२०८१ वैशाख २२ गते | 4th of May 2024

कोरोना विरुद्धको प्रभावकारी उपचारका लागि साधनको कमी हुन नदिन सरकारका सबै निकायहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ३१ गते १४:४५
काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको प्रभावकारी उपचारको लागि सरकारले देशभरका अस्पतालहरूमा सुविधा सम्पन्न अक्सिजन सहितका बेड, आवश्यक अन्य उपकरण र चिकित्सकको व्यवस्था गर्न लागि परेको बताउनुभएको छ । आज सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा पद बहाली गरेपछि उपप्रधानमन्त्री, मन्त्रीगण तथा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको प्रभावकारी उपचारका लागि औषधी, चिकित्सक र उपकरण लगायत अन्य साधनको कमी हुन नदिन सरकारका सबै निकायहरूलाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्री ओलीले कोरोनाका कारण मुलुकको उत्पादनको क्षेत्रमा परेको प्रभावलाई कम गर्न सरकारले राज्यका साधन र स्रोतहरूको सकेसम्म प्रभावकारी परिचालन गर्न प्रयास गरेको भन्दै त्यस कार्यमा परिचालन हुन सबै निकायहरूलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले स्वास्थ्य समस्याको जटिल यस अवस्थामा निजी क्षेत्र, सरकारी र निजी लगायत सबै अस्पतालहरूले बिरामीको सेवाका लागि परोपकारी र सेवा भावका साथ सक्रिय हुन पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले देशभरका अक्सिजन उद्योगहरूलाई पूर्ण क्षमतामा सञ्चालन हुनु अक्सिजन ग्यासको भनसुनको भरमा नभै बिरामीको आवश्यकताको आधारमा प्रभावकारी रूपले वितरण हुने प्रबन्ध मिलाउन पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले मानव जातीकै अस्तित्व माथि चुनौती दिँदै कोरोना भाइरस फैलिइरहेको बेलामा त्यसलाई निहुँ बनाएर कसैले अनियमितता गर्दछ भने त्यसलाई कडा कारबाही गर्न पनि निर्देशन दिनुभयो ।
प्रधानमन्त्री ओली वर्तमान सरकार देश र जनताप्रति पूर्ण बफादार भएर अघि बढने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । सरकारको अघि सारेका विकास, स्वास्थ्य समस्या लगायतका अभियानमा सरकारलाई कर्मचारी प्रशासनबाट सक्रिय सहयोग प्राप्त हुने विश्वास पनि प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभयो । यस अघि प्रधानमन्त्री ओलीले आज राष्टपति बिधादेवी भण्डारीवाट सपथ लिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *