२०८१ साउन १२ गते | 27th of July 2024

नेपालमा पहिलोपटक अक्सिजन सिलिन्डर उत्पादन

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ४ गते १४:२८

काठमाडौं  – अक्सिजन सिडिन्डरको हाहाकार भइरहेको बेला अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरिएको छ । नेपालमा पहिलोपटक अक्सिजन सिलिन्डर उत्पादन गरिएको हो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वैज्ञानिकहरुले स्टिलको सिलिन्डर तयार गरेका हुन् । अक्सिजन ग्यास सिलिन्डरको मङ्गलबार परीक्षण गरिएको छ । ग्यास सिलिन्डरमा ग्यासको दवाव २२५ बारसम्म भए सुरक्षित रहन्छ । परीक्षण गर्दा ग्यासको दवाव २३५ बारसम्म पुगेपछि सिलिन्डरमा जोडिएको पाइप फुट्न पुगेको थियो । सिलिन्डरमा ग्यासको दवावको एकाइ बार हो ।
नास्टका प्रविधि संकाय प्रमुख डा. रविन्द्रप्रसाद ढकालले सिलिन्डरले न्यूनतम् दवाव थेगेकोले सुरक्षित भन्न मिल्ने बताउँदै भन्नुभयो, “अब पुनः परीक्षण गरेर ग्यासको दवाव ३७५ बारसम्म पु¥याउँछौँ । सिलिन्डर ग्यासको कुन तहको दवावमा पुगेर विष्फोटन हुनेछ भन्ने परीक्षण नगर्दासम्म यसको व्यावसायिक उत्पादन उपयुक्त हुँदैन ।”
नेपालमा हालसम्म पनि यस्तो सिलिन्डर निर्माण हुने गरेको छैन भने आयातित सिलिन्डरको गुणस्तरसमेत परीक्षण हुने गरेको छैन । डा. ढकालले विदेशबाट ल्याइएका सिलिन्डरको गुणस्तर परीक्षण गर्न अब सम्भव हुने बताउनुभयो । नास्टले स्टिलको प्रयोग गरी आफै सिलिन्डर तयार गरेको थियो । बजारमा प्रतिसिलिन्डर १२ देखि १४ हजार रुपियाँमा पाइन्छ तर नास्टले तयार गरेको सिलिन्डर प्रतिगोटा १० हजार रुपियाँ पनि नपर्ने उहाँले बताउनुभयो ।
कोभिड–१९ को दोस्रो लहरपछि ग्यासभन्दा बढी ग्यास सिलिन्डरको चरम अभाव देखिएको छ । उहाँले नास्टले ग्यास सिलिन्डरको परीक्षण उत्पादन गर्न लागेको खबर सुनेकाले दुई वटा उत्पादन कम्पनीले सम्पर्क गरेको जानकारी दिँदै भन्नुभयो, “अब सिलिन्डरको ब्रेकिङ प्वाइन्टसम्मको पुनः परीक्षणपछि कम्पनीहरुलाई हामीले विकास गरेको प्रविधि हस्तान्तरण गर्नेछौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *