काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीचको संवादपछि आफ्नै नेतृत्वमा सरकार मात्रै स्वीकार्य हुने निर्णय जसपाले गरेको छ। अन्य दलको सरकारमा सहभागी नहुने र आफ्नो नेतृत्व हुने अवस्थामा मात्रै सत्तामा जाने निर्णय उसले गरेको हो। यसअघि ठाकुरपक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प बाहेकमा छलफल हुनै नसक्ने जनाएको थियो। अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको अडानका कारण ठूलो दलका रुपमा ओली प्रधानमन्त्रीमा दोहोरिएका थिए।
बहुमत सिद्ध गर्नुपर्ने अन्तिम दिन बैशाख ३० मा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुन आग्रह गरेका थिए। ठाकुर र महतोले कांग्रेस सभापतिलाई साथ नदिने भएपछि देउवाले ओलीको विकल्पमा ‘तपाईं नै प्रधानमन्त्री बन्नोस्’ भनेर पनि ठाकुरलाई प्रस्ताव गरेका थिए। त्यसबेला ओली बाहेकको विकल्पमा ठाकुर जान नचाहेको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले बताए। संविधानको धारा ७६ (३) अन्तर्गत ओली अल्पमतको प्रधानमन्त्री बनेका छन्। ओलीले विश्वासको मत पाउन सकेनन् भने संविधानको धारा ७६ (५) आकर्षित हुन्छ। त्यस अनुसार संसदको कुनै एक सदस्यले बहुमत पुर्याउँछु भनि आधार प्रस्तुत गरेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री बनाउने व्यवस्था छ। कांग्रेसले जसपाको नेतृत्व वा जसपाले कांग्रेसको नेतृत्व स्वीकारेमा कांग्रेस–माओवादी–जसपाको सरकार बन्न सक्छ। कांग्रेसबाट देउवा वा जसपाबाट ठाकुर प्रधानमन्त्रीको दौडमा हुनेछन्। प्रधानमन्त्रीले विश्वासको मत लिन नसक्ने तथा संसदको कुनै सदस्यले बहुमत पुर्याउने आधार प्रस्तुत गर्न नसके मुलुक चुनावमा प्रवेश गर्छ। आगामी चुनाव ओलीको नेतृत्वमा सकभर नहोस् भन्ने कांग्रेसको इच्छा छ। ओलीले गराउने चुनाव धाँधलीपूर्ण हुने कांग्रेसको आशंका छ। ओलीको विकल्पमा अन्य दलको नेतृत्वमा सरकार बनाउन पार्टी तयार हुनुपर्ने तर्क पनि कांग्रेसमा उठेको छ। नेपाल लाइभसँगको अन्तर्वार्तामा कांग्रेस नेता अर्जुननरसिंह केसीले ओलीलाई प्रधानमन्त्रीबाट विस्थापन गर्न महन्थलाई सरकारको नेतृत्व स्विकार्नुपर्ने बताइसकेका छन्।