२०८१ वैशाख २० गते | 2nd of May 2024

प्रधानमन्त्रीमा ओली र देउवाको दावी, राष्ट्रपतिले भनिन् – ‘परामर्शपछि म एउटा निष्कर्षमा पुग्छु’

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ७ गते १४:०६

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्ता, संविधानविद् र कानुनविद्हरुसँग परामर्श गरेर निष्कर्षमा पुग्ने दलहरुलाई बताएकी छन् । आफ्नो पक्षमा १४९ सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न दाबीसहित पुगेका नेताहरूसित राष्ट्रपति भण्डारीले भनिन्, ‘परामर्शपछि म एउटा निष्कर्षमा पुग्छु ।’ राष्ट्रपति भण्डारीले देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपालसितको भेटका क्रममा साथै रहेकी नेपाली कांग्रेसक संसदीय दलकी सचेतक पुष्पा भुसालले  यस्तो जानकारी दिएकी हुन् ।  ‘तपाईंहरूले हस्ताक्षरसहित पत्र ल्याउनुभएको रहेछ, यो बारेमा म महान्यायाधिवक्ता, कानुनविद् र संविधानविद्हरुसँग परामर्श गर्छु,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भुसालले भनिन्, ‘प्रधानमन्त्री ओलीले पनि आफ्नो दाबी बुझाउनु भएको छ । तपाईंहको हस्ताक्षरसहित रहेछ, उहाँ (ओली) को चाहिं दलहरुले निर्णय गरेर प्रस्ताव ल्याउनु भएको छ, यो विषयमा म परामर्श गरेर निष्कर्षमा पुग्छु ।’

राष्ट्रपति भण्डारीले यसो भनिसकेपछि देउवा, नेपाल र दाहालहरुले अब धेरै जटिलतामा प्रवेश गर्न जरुरी नभएको उल्लेख गर्दै हस्ताक्षरसहित संविधानतः आफूहरु आएको बताए । ‘यो दर्ता प्रक्रिया छिटो गरेर लैजानोस्, यसलाई धेरै अल्झाउने काम नगर्नु होला,’ नेताहरुले राष्ट्रपतिलाई आग्रह गरे । ‘नेताहरुको आग्रहपछि राष्ट्रपति भण्डारीले म परामर्श गर्छु भन्नुभयो,’ भुसालले भनिन् । यता नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काका अनुसार हस्ताक्षर गर्ने सांसदहरुमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, माधव नेपाल समूहका २६ र राष्ट्रिय जनमोर्चाका एक गरी एक सय ४९ जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *