काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न कोभिड–१९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिएका छन् ।
नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ ६ गते जारी भएको अध्यादेश अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड–१९ निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकमा प्रधानमन्त्रीले कोरोना संक्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई खोपको सुनिश्चिता गर्नेगरी काम गर्न निर्देशन दिएका हुन् । ओलीले कोभिड–१९ नियन्त्रण सम्बन्धी र सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेशले सम्पूर्ण प्रक्रियागत जटिलताहरूको समाधान गरेको भन्दै कोभिड–१९ व्यवस्थापन केन्द्रलाई तदारुकताका साथ काम अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव खगराज बरालले जानकारी दिए ।