काठमाडौं – चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप अनुदान दिने भएको छ। चिनियाँ राष्ट्रपति सी चिनजिङले बुधबार दिउँसो यस्तो घोषणा गरेको काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिइन्।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन्। चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो। बुधबार दिउँसो राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग पौने घन्टा टेलिफोन वार्ता गरेकी थिइन्। राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार भण्डारी र चिनफिङबीच झन्डै पौने घन्टा कुरा भएको थियो। कुराकानीका क्रममा राष्ट्रपति भण्डारी नेपाल सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अनुरोध गरेकी थिइन्। जवाफमा राष्ट्रपति चिनफिङले नेपालजस्तो मित्र राष्ट्रलाई सहयोग गर्न आफूले पहल गर्ने बताएका थिए। दुई देशका राष्ट्रपतिबीच कुराकानी गराउन दुबै देशका परराष्ट्र मन्त्रालयले केही दिनदेखि तयारी थालेका थिए।
राष्ट्राध्यक्षको तहमा कुराकानी हुँदा सरकार र कूटनीतिक नियोगलाई पनि काम गर्न सजिलो हुने भएकाले राष्ट्रपति भण्डारीले दुबै देशका समकक्षीलाई खोपका लागि अनुरोध गरेको सञ्चार विज्ञ ढकालले बताए।
मंगलबार भारतीय समकक्षीलाई पठाएको पत्रमा राष्ट्रपति भण्डारीले भारतले यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवाद दिएकी थिइन्।