काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आफूले आक्षेप, अपमान र पीडा व्यहोरिरहेको बताएका छन्। शुक्रबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यी सबैका बाबजुद् पनि आफू एकताका पक्षमा लागिरहेको दाबी गरेका छन्। सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने अघिल्लो दिन राज्य प्रमुखले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमको झझल्को दिने गरि सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सरकारले गरेका र गर्ने कामको फेहरिस्त प्रस्तुत गरेका थिए ।
उनले एमाले भित्रको द्दन्द उल्लेख गर्दे ‘नेकपालाई एकीकृत गर्ने प्रयास असम्भव भएपछि हामीले नेकपा (एमाले) लाई नै एकीकरणको बिरासत पार्टीका रूपमा एकतावद्ध र गतिशील बनाउने काम गरेको उल्लेख गर्दे तर कतिपय नेताहरूमा आफ्ना विभाजनकारी गतिविधिप्रति रत्तिभर गल्तीबोध देखिएन। उल्टै, एकीकरणको रक्षा र नेतृत्वको पक्षमा उभिनुभएका साथीहरूलाई पञ्छाउने कुरामा मात्र उहाँको प्रयास केन्द्रित रह्यो। फेरि पनि पार्टीलाई गुटहरूको संयुक्त मोर्चा र अन्त्यहीन विवादको थलो बनाउने केही नेताहरूका नियतका कारण हाम्रा प्रयास सार्थक हुन सकिरहेका छैनन्। यसबीचमा फ्लोर क्रस गर्ने/गराउने काम भएका छन्। पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन विपक्षीसँग साँठगाँठ गरिएका छन्। अनि, आफ्नो पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्रीलाई हटाउन कहिले संसदमा अनुपस्थित हुने त कहिले विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने जस्ता चरम विकृति प्रकट भएका छन्,’ उनले भनेका छन्, ।