२०८१ वैशाख १६ गते | 28th of April 2024

उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थपियो

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ १९ गते १४:५३

काठमाडौ – काठमाडौ उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थपिएको छ। बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो।  वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो। जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ।  किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।

फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्नेछन्।  यस्तै, विकास निर्माणको काम खुला गरिएको छ। तर, निर्माण सामग्री ओसार्न राति मात्र दिइने छ। दिउँसो लेबर राखेर काम गर्न दिइने छ।  विकास निर्माणका लागि आवश्यक पर्ने सामग्री ढुवानीका लागि राति ९ देखि बिहान ४ बजेसम्मको समय तोकिएको छ। यस्तै, सवारीसाधन मर्मतका लागि पनि वर्कसपहरू राति ९ देखि बिहान ९ बजेसम्म खुल्नेछन्। ‘साबिकमा हामीले किराना पसल र खाद्यान्नका डिपार्टमेन्ट स्टोर बन्द गराएका थियौं,’ भट्टराईले  भने, ‘अब निषेधाज्ञा केही खुकुलो भएको बुझ्नुपर्छ।’  तरकारी पसलहरू सामाजिक दुरी कायम गरेर सञ्चालन गर्न पाइने छ। तोकिएका ठाउँबाहेक अन्यत्र तरकारी पसल सञ्चालन गर्न रोक लगाइएको छ।

उनका अनुसार यातायातमा पुरानै नियम यथावत् छ। निजी संघ-संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय-पत्र चाहिने छ। व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।विवाह तथा ब्रतबन्धमा बढीमा सात जनासम्म सहभागी भएर घर वा बसेको स्थानमा मात्र गर्न पाइने छ। तर, होटल र पार्टी प्यालेसमा गर्न पाइने छैन। बिहे र ब्रतबन्धको लागि एउटा सवारीसाधन मात्रै प्रयोग गर्न पाइने छ। यसअघि जारी गरिएको कडा खालको निषेधाज्ञा बिहीबार राति १२ बजेसम्म लागू हुन्छ। त्यसपछि नयाँ नियम कार्यान्वयनमा आउने छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *