२०८१ वैशाख १५ गते | 27th of April 2024

झलनाथले भने – ‘ओली त धेरै निर्मम रहेछन’

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ २० गते १४:०९

काठमाडौं–   झण्डै ७ घण्टा चलेको आफूपक्षीय केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले लगभग पूरै समय केन्द्रीय सदस्यहरुका धारणा सुने। बिहीबार केन्द्रीय सदस्यहरु बोल्ने पालो नसकिएकाले यो क्रम शुक्रबार पनि जारी रहनेछ। नेपाल बैठकमा केहीबेर मात्र बोले। उनले सबैका धारणा सुनेपछि आफ्ना धारणा राख्ने बताए। खनालले भने बैठककै बीचमा अलि बेरसम्म आफ्ना कुरा राखे। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार भर्खरै कोरोना संक्रमण भएर स्वास्थ्यलाभ गरिरहेका खनालले एमालेको नयाँ पुस्तालाई विशेष जोड दिएर आफ्ना धारणा राखेका थिए। खनालले अध्यक्ष केपी शर्मा ओलीले कोरोना संक्रमण भएर घरबाट बाहिर निस्कन नसकेको बेलासमेत आफूलाई पार्टीबाट निष्कासन गर्ने गरेर हदैसम्म निर्ममता प्रस्तुत गरेको उल्लेख गरेका थिए। ‘यस्तो बेला ओलीले साधारण सदस्यबाटै निकालेको निर्णय गराए, तर उनको यो निर्णयको के अर्थ छ र? हामीले यत्रो दुःखले बनाएको पार्टी हो, उनले निष्कासन गरेँ भन्दैमा म एमाले नरहने भन्ने पनि हुन्छ र?’, खनालको भनाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘तर, यो घटनाले ओली कतिसम्म निर्मम छन् भन्ने प्रष्ट पारेको छ। अब तपाईंहरु ओलीविरुद्ध लड्नुपर्छ। हाम्रो स्वास्थ्य र उमेरले गर्दा हामी रहेनौं भने यो लडाईंलाई तपाईंहरुले अगाडि बढाउनुपर्छ।’

खनालले पार्टीमा चुलिएको गलत प्रवृत्तिविरुद्ध जुध्न नयाँ पुस्तालाई आग्रहसमेत गरे। ‘एमाले जोगाउनलाई वार्ता पनि गर्नुस्, तर वार्ताबाट भएन भने कम्युनिष्ट पार्टी जस्तै गरी एमालेलाई पुनर्गठन गर्न अघि बढ्नुस्’, खनालले भनेका थिए, ‘तपाईंहरुले आँट गर्नुभएन। अब जुध्नुस्। हिम्मत राख्नुस्। गलत प्रवृतिको विरुद्ध उत्रनुस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *