२०८१ वैशाख २३ गते | 5th of May 2024

डब्लुएचओले भन्यो- नेपालमा कोरोना भाइरसको कुनै नयाँ स्वरुप पुष्टि छैन

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ २० गते १४:३५

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनले नेपालमा कोरोना भाइरसको कुनै नयाँ स्वरुप पुष्टि नभएको प्रष्ट्याएको छ । बेलायतबाट प्रकाशित हुने पत्रिका डेली मेलले  आफ्नो बुधबारको अङ्कमा कोरोना भाइरसको ‘नेपाल स्वरुप’ भनेर समाचार प्रकाशन गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस(सार्स–कोभ–२)को नयाँ स्वरुप फेला परेको सम्बन्धमा कुनै जानकारी नभएको समेत बताएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको नेपाल च्याप्टरले नेपालमा कोरोनाका कुनै नयाँ स्वरुप पुष्टि नभएको प्रष्ट्याएको हो । उक्त समाचार प्रकाशन भएपछि नेपालमा कोरोनाभाइरसको नयाँ स्वरुप साँच्चिकै पुष्टि भएको हो की सबाल उठेको थियो । तर नेपालस्थित विश्व स्वास्थ्य सङ्गठनको कार्यालयले नयाँ स्वरुपबारेको भ्रमलाई चिरेको हो ।
विश्व स्वास्थ्य सङ्गठनले सामाजिक सञ्जाल फेसबुकको आफ्नो पेजमा नेपालमा हालसम्म कोरोनाको तीन स्वरुप मात्रै पुष्टि भएको उल्लेख गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले आफ्नो उक्त सन्देशलाई ‘महत्वपूर्ण’ लेखेर साझा गरेको हो ।
डेली मेलले आफ्नो जुन २ को अङ्कमा ‘नेपाल भेरिएन्ट थ्रेट टु आवर होलीडे’ शीर्षक राखेर आवरण समाचार प्रकाशन गरेको थियो । बीबीसीले भने उक्त समाचारलाई ट्वीट गरेको थियो । कोरोनाभाइरसको नेपाली स्वरुपलाई लिएर बिदामा जान जोखिम उत्पन्न हुने आशयसहितको उक्त समाचार डेली मेलले प्रकाशन गरेको थियो । बेलायत सरकारले कोरोनाभाइरसको जोखिम रहेको राष्ट्रलाई रातो सूचीमा राख्दै भ्रमण तथा यात्रामा प्रतिबन्ध लगाउँदै आएको छ । आगामी दिनमा हुने सरकारी बिदामा नेपाललाई गन्तब्य सूचीमा राख्न सकिने भएपछि डेली मेलले उक्त समाचार प्रकाशन गरेको थियो ।
विश्व स्वास्थ्य सङ्गठनले भने नेपालमा अल्फा, डेल्टा र कप्पा गरी तीन स्वरुप मात्रै पुष्टि भएको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले बी.१.१.७ लाई अल्फा, बी.१.६१७.२ लाई डेल्टा र बी.१.६१७.१ लाई कप्पा नामाकरण गरेको छ । कोरोनाको तीन वटा स्वरुपमध्ये नेपालमा हाल डेल्टा(बी.१.६१७.२) स्वरुप तीब्र रुपमा फैलिएको छ । कोरोनाको डेल्टा स्वरुप बेलायतबाट भारत भित्रिएको स्वरुप उत्परिवर्तन भएर नयाँ स्वरुप ग्रहण गरेको हो ।
नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लागेको छ । बुधबार चौबीस घण्टामा चार हजार ५८२ सङ्क्रमित थपिएका छन् । १०१ जनाको मृत्यु भएको छ । दुई साता अघि नेपालमा दैनिक थपिने सङ्क्रमित करिब नौ हजारभन्दा माथि पुगेको थियो । दैनिक दुईसय जनाभन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका थिए । तर लकडाउनको एक महिनापछि दैनिक थपिने सङ्क्रमित घट्दै गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *