लस एञ्जलस – क्यालिफोर्नियाको पर्यटकिय शहर लस एञ्जलस स्थित श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर नर्वाकमा नेपाली दुताबास अमेरिकाले आफ्नो घुम्ती सेवा प्रदान गर्ने भएको छ। भोली जुनको ०४ तारिख शुक्रबार बिहान ९:०० बजेदेखी बेलुका ५:०० बजेसम्म र ०५ तारिख शनिबार ९:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म घुम्ती सेवा कार्यक्रम सञ्चालन हुनेछ। क्यालिफोर्नियाका लागि अवैतनिक महाबाणिज्यदुत ऋषी ढकालको संयोजनमा हुन गईरहेको घुम्ती सेवा कार्यक्रमको आयोजना श्री पशुपतिनाथ फाउण्डेसन युएसएले गरेको जानकारी फाउण्डेसनका अध्यक्ष श्री मुकुन्द कुमार ढुङ्गानाले बताउनु भयो।
लामो समयदेखि कोरोना कहरले प्रताडित नेपाली समुदायका मानिसहरु र भविष्यमा नेपाल भ्रमणमा जाने अमेरिकी नागरिकहरु र गैह्र आवासीय नेपालीहरुको निम्ति भिषा सेवा समेत प्रदान गर्नेछ। साथसाथै आप्राबासी नेपालीहरुको निम्ति एनआरएनए कार्ड बनाउने, अधिकृत वारेसनामा बनाउने, नेपाली राहदानी बनाउने तथा नविकरण गर्ने लगाएत नेपाली एम्बेसीबाट हुने सबै किसिमको कन्सुलर सेवा सम्बन्धी घुम्ती सेवा प्रदान गरिनेछ ।
क्यालिफोर्नियाको लस एञ्जलसमा आयोजित घुम्ती सेवा कार्यक्रमले लस एन्जलस र यस क्षेत्र वरिपरी बस्ने नेपालीहरु घुम्ती सेवाको फईदा लिन सक्नेछन् । घुम्ती सेवा कार्यक्रम सञ्चालनको लागी अमेरिकाका लागी महामहिम नेपाली राजदुत डा. श्री युवराज खतिवडा सहितको टोली बिहीबार नै लस एन्जलस आईपुग्नुभएको छ ।
घुम्ती सेवा कार्यक्रम सञ्चालनको रमणीय पर्यटकिय शहर लस एञ्जलसमा पाल्नुहुने पाहुनाहरु महामहिम नेपाली राजदुत डा. श्री युवराज खतिवडा र उहॉंको टोलीको स्वागत र सम्मानमा बिहीबार बेलुका ६:३० बजेदेखि १०:०० बजेसम्म श्री पशुपतिनाथ फाउण्डेसन युएसएको आयोजनामा एक रात्रीभोज कार्यक्रम सम्पन्न गरेको छ ।
आपसी एकता, सद्भाव र मेलमिलापको एउटा नमुना बोकेको लस एञ्जलस नेपाली समाज अमेरिकाको निम्ति अनुकरणीय एक नेपाली समुदायको रुपमा क्रियाशिल रहेको छ ।
यसैगरी घुम्ती सिविर लस एन्जलस पछि सानफ्रान्सिस्कोमा आयोजना हुनेछ ।