२०८२ फागुन ३० गते | 14th of March 2026

अमेरिकाले पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण गर्ने घोषणा, नेपाललाई कति ?

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ २१ गते १४:०३

काठमाडौं – जुन महिनाभरिमा कोभिडविरुद्धको आठ करोड मात्रा खोप विश्वलाई बाँड्ने योजनाबमोजिम अमेरिकाले पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण गर्ने घोषणा गरेको छ। संसारभरि उचित तरिकाले अनि उच्च जोखिममा परेका देशहरूलाई ती खोप बाँडिने बताइएको छ।अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड-१९ विरुद्ध १ करोड ९० लाख मात्रा खोप विश्वभरि खोप बाँड्ने कोभ्याक्स कार्यक्रमलाई दिने घोषणा गरेका छन्। त्यसका अतिरिक्त ६० लाख मात्रा भारत तथा क्यानडा लगायतका देशलाई प्रत्यक्ष दिइने उनले बताए।

 विश्वलाई आठ करोड मात्रा खोप वितरण गर्ने अमेरिकी योजनाको यो पहिलो एक तिहाइ हिस्सा हो। खोप बाँडिने देशहरूको सूचीमा नेपाल पनि रहेको छ।  काठमाडौं स्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमा नेपाललाई प्रत्यक्ष सहयोगसहित कोभ्याक्समार्फत् ७० लाख खोप एसियाली देशहरूलाई दिइने जनाएको छ। नेपाललाई दिइने यकिन सङ्ख्या तथा कुन खोप भन्ने खुलाइएको छैन।

अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकाले प्रत्यक्ष खोप सहयोग गर्ने देशहरूमा नेपाल पनि रहेको भन्दै त्यसबारे थप विवरण चाँडै आउने बताएका छन्। उक्त घोषणालगत्तै नेपालका प्रधानमन्त्री केपी ओलीले एक ट्वीट गर्दै नेपाललाई अमेरिकी खोप सहयोगको निर्णयको स्वागत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *