२०८१ वैशाख २३ गते | 5th of May 2024

नवनियुक्त उपप्रधानमन्त्री महतोको विवादास्पद अभिव्यक्ति – ‘नेपाल बहुल राष्ट्रिय राज्य हो’

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ २२ गते १४:०१

काठमाडौं – नवनियुक्त उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका छन् । शनिबार जसपाको पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरूलाई स्वागत कार्यक्रमपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसार नियम, कानुन, संविधान र व्यवस्थामा हिमाल, पहाड, तराई र मधेसको जनताको सहभागिता हुनुपर्ने बताएका हुन् ।

बहुलताले भरिएको देशमा एकल जातीय राज्यको प्रभाव परेको भन्दै उनले बहुलतामा लैजानुपर्ने बताए । बहुल राज्य नभएसम्म जनताले अधिकार र पहिचानका निम्ति आन्दोलन गरिरहने उनले बताए । उनले भने, ‘नेपाल विविधताले भरिएको देश हो । विभिन्न जाति, वर्ग, समुदाय, चार वर्ण छत्तीस जातको पूmलबारी भनेको विविधता हो । बहुलता भनेको बहुल राष्ट्रिय राज्य हो । नेपाल भनेको बहुल राष्ट्रिय राज्य भएकाले त्यहीअनुसारको नियम, कानुन, संविधान, व्यवस्था, सहभागिता, हिमाल, पहाड, तराई, मधेसका जनताको हुनुपर्छ । विविधताले भरिएको देश, बहुलताले भरिएको देशमा एकल हुनै सक्दैन । बहुलता नै हुन्छ । बहुल भनेको कुनै एक जात, एक वर्ग, एक समुदाय होइन । बहुलता भनेको सबै हो । त्यसैले सबैको राज्यशासनमा प्रतिनिधित्व हुनुपर्छ । पहिचान हुनुपर्छ । र यो नभएसम्म देशमा जनताले आफ्नो अधिकार पहिचानका लागि संघर्ष गरिरहन्छ । आन्दोलन गरिरहन्छ पहिचानका लागि । नेपाल सम्पूर्ण नेपालीको हुनुपर्छ र बनाउनुपर्छ । जहाँजहाँ कमी–कमजोरी छ, जहाँजहाँ विभेद छ । जहाँजहाँ एकल जातीय राज्य सञ्चालन गर्ने, एकल जातीय हिसाबले जहाँ प्रभाव परेको छ त्यसलाई बहुलतामा लैजानुपर्छ । यो सबैको देश हो । राज्यको शासन प्रणालीदेखि लिएर सबै ठाउँमा उसको पहिचान, प्रतिनिधित्व हुनुपर्छ ।’

उनले संविधान अपूर्ण भएको भन्दै अधिकार र पहिचानका निम्ति जसपाले मिसन चलाउने पनि बताए । देशका सबैकुरा ठिकठाक नभएको भन्दै उनले नियम, कानुन, संविधान र शासनमा भएको कमीकमजोरीलाई संशोधन र सुधार गर्दैै जानुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *