सागर श्रेष्ठ /सानफ्रान्सिस्को – अमेरिकाकाका लागि नेपाली राजदुत डा. युवराज खतिवडाले शनिबार एक बिशेष समारोहका बिच क्यलिफ़ोर्निया राज्यको सानफ्रान्सिस्कोमा कृषि फर्मको उद्घाटन गर्नु भएको छ। नेपालीहरुको संयुक्त लगानीमा स्थापित ‘ओहो भेन्चर, एलएलसी’ कम्पनीद्वारा संचालित सो कृषि फर्ममा हाल बाख्रा र गाई पालन गरिनुका साथै मकै खेती पनि सुरु गरिएको छ ।
नेपाली दुतावासको घुम्ती शिविरका क्रममा लस एन्जलस पछी हाल सानफ्रान्सिस्को शहर भ्रमणमा रहनु भएका राजदुत डा. खतिवडा सो स्थलमा पुग्दा कम्पनीका संचालक तथा नेपाल खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना, संचालक तथा पूर्व प्रहरी अधिकारी सागर थापा तथा पूर्व राष्ट्रिय खेलाडी पदम तामांगले स्वागत गर्नु भएको थियो। सो अबसरमा डा. खतिवडाले नेपालीले बिदेशमा संचालन गरेको ब्यबसायको सरहना गर्दै सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो।
कम्पनीका संचालकहरुले आफ्नो योजनाका बारेमा जानकारी गराएका थिए । संचालकहरुका अनुसार सबै निर्माणका प्रक्रिया पुरा भैसकेका कारण तत्काल खसीको मासु बिक्री पनि सुरु गर्न लगिएको छ । नेपालीको महान चाड दशैं नजिकिदै गएकोले त्यसका लागि बिशेष तयारी समेत गरिएको कार्यक्रममा जानकारी दिईएको छ । सो फर्म क्यालिफोर्नियाको चर्चित शान्ता रोजाको कोताटीस्थित १० हेक्टर जग्गामा फैलिएको छ ।
कार्यक्रममा महावाणिज्यदुत ॠषी ढकाल, पर्यटनदुत घनप्रसाद दवाडी लगायत स्थानियको उपस्थिती थियो ।