२०८१ वैशाख २१ गते | 3rd of May 2024

असन्तुष्ट समूह खनाल-नेपाल पक्षद्दारा ओलीको शर्त अस्विकार, जालझेलपूर्ण भनाईमा पार्टी एकता कायम गर्ने असल नियत नभएको ठहर

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ २४ गते १४:५३

काठमाडौं –  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) को असन्तुष्ट समूह (खनाल-नेपाल पक्ष)ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गलत बाटो परित्याग नगरेको र ६ बुँदेका नाममा अनेकता सिर्जना गर्न खोजेको भन्दै एकता प्रस्ताव, शर्त अस्वीकार गर्ने बताएको छ । सोमबार स्थायी कमिटीको बैठक बसेर ओलीको प्रस्ताव छलछामपूर्ण भएकाले अस्वीकार गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत् बताइएको छ ।

“अध्यक्ष केपी ओलीद्वारा जारी वक्तव्यको बुँदा नं. १ नै पार्टी एकता हासिल गर्नेभन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित देखिएको छ,” विज्ञप्तिमा भनिएको छ, “यही बुँदामा, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकीकरण २०७५ साल जेठ ३ गते भएकोले सर्वोच्च अदालतबाट नेकपा (एमाले) पुनर्जीवित हुने फैसला भएकाले जेठ २ गते पूर्वको स्थितिमा पार्टी समग्ररुपमा कायम हुनुपर्छ भन्नुपर्नेमा ३ गते पूर्व भन्दै अल्मल्याउने भाषा प्रयोग भएको छ । साथै नेकपा (एमाले) २०७५ साल जेठ २ गते पूर्वको स्थितिमा कायम हुने कुरा नगरी “नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा” उभिएका व्यक्तिहरुलाई “आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने” कुरा गर्दै यथार्थमा पार्टीलाई २०७५ साल जेठ २ गतेको स्थितिमा कायम नराखी आफ्नो गुटगत स्वार्थ अनुरुप हुने कुरा गरिएको छ । यस्तो कुरा पार्टी एकता कायम गर्ने मनसायबाट आएको भन्ने कदापि देखिन्न । यो अस्वीकार्य छ ।”

त्यस्तै खनाल–नेपाल समूहले बुँदा नम्बर २ मा मातहतका पार्टी कमिटी र जनसंगठनहरुलाई २०७५ साल जेठ २ गते अगाडिको स्थितिमा कायम गरी क्रियाशील गर्ने कुरा पनि नमानिएको बताएको छ ।  “मूलभूतरुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्कने कुरा गरी मन लागेकोलाई कायम गर्ने र नलागेकोलाई हटाइदिने मनसाय राखिएको छ । यस्तो जालझेलपूर्ण भनाई पार्टी एकता कायम गर्ने असल नियत भएको ठहरिन्न,” खनाल–नेपाल समूहले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *