काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पक्षले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको पार्टीको एकताको प्रस्तावलाई इमान्दार एकताको प्रयत्न मान्न नसकिने बताएका छन् । पार्टी एकता राष्ट्रिय अभियानको संयोजकसमेत रहेका गौतमले आज बैठक बसेर यस्तो निष्कर्ष निस्किएको बताएका हुन् । ‘जनवर्गीय संगठनहरुका संरचनाका सम्बन्धमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्वीकार गर्न पनि सकिन्छ भन्ने हो, जसलाई इमान्दार एकताको प्रयत्न मान्न सकिन्न’ गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गौतमले प्रस्तावमा ओलीले आफ्नै प्रशंसा कुटिल चातुर्यता र जालझेल समेटिएको भाषा शैली प्रयोग भएको बताएका छन् । विज्ञप्तिमा २०७५ जेठ ३ गते पूर्वको अवस्थामा पार्टीलाई अघि बढाइने भनिएको विषय भने सकरात्मक रहेको उल्लेख गरेका छन् ।