२०८१ वैशाख २४ गते | 6th of May 2024

विश्वको सबभन्दा ठूलो परिवारका मुखियाको निधन

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ३१ गते १४:४९

काठमाडौं  – विश्वको सबभन्दा ठूलो परिवारको मुखिया मानिएका ७६ वर्षीय पुरुषको भारतको मिजोरम राज्यमा निधन भएको छ। बहुपत्नी प्रथा भएको एउटा धार्मिक सम्प्रदायका प्रमुख रहेका जिओना चानाको आइतवार मृत्यु भएको हो। उनका ३८ श्रीमती, ८९ सन्तान र ३६ नातिनातिना रहेका छन्। मिजोरमका मुख्यमन्त्री जोरामथाङ्गाले ट्विटरमा ‘मन भारी’ भएको भन्दै समवेदना प्रकट गरेका छन्। चानालाई मधुमेह र उच्च रक्तचापको समस्या थियो। चिकित्सकहरूले पीटीआई समाचार संस्थालाई चानाको घरमै स्वास्थ्य बिग्रिएको र आइतवार साँझ मृत अवस्थामा अस्पताल ल्याइएको बताएका छन्।

अन्य व्यक्तिहरूले पनि उनीहरूको परिवार सबैभन्दा ठूलो भएको दाबी गरेका कारण चानाको परिवार नै सबैभन्दा ठूलो रहेको कुरा निर्विवादित भने छैन। त्यस्तै चानाको परिवारको ठ्याक्कै सङ्ख्या यकिन गर्न पनि सहज छैन। एउटा विवरणमा उनका ३८ श्रीमती, ९४ सन्तान, ३३ नातिनातिना र एक पनाति रहेको बताइएको छ। स्थानीय सञ्चारमाध्यमहरूले सबैभन्दा ठूलो परिवारको विश्व कीर्तिमान भएको विवरण दिए पनि त्यसको आधिकारिकता पुष्टि भएको छैन। स्थानीय सञ्चारमाध्यमहरूले “रिप्लिज् बीलीभ इट अर नट” टिभी शोमा यो परिवार दुई पटक देखाइएको बताउने गरेका छन्। विश्व कीर्तिमान भए पनि वा नभए पनि चानाको परिवारका कारण भारतको उत्तरपूर्वी गाउँ पर्यटकीय आकर्षणको केन्द्र भने बनेको छ। चानाको रमाइलो जीवनले पनि सञ्चारमाध्यममा निकै स्थान पाएको छ। त्यो परिवार १०० कोठा भएको घरमा बस्छ। उनका श्रीमतीहरू चानाको शयन कक्षसँगै रहेको ठूलो कोठामा एकसाथ सुत्ने स्थानीय सञ्चारमाध्यमले लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *