२०८१ वैशाख २१ गते | 3rd of May 2024

१२ वर्ष सत्तामा रहेका बेन्जामिन नेतान्याहुको सत्ता ढल्यो

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ३१ गते १५:२८

  काठमाडौं – इजरेलको संसद्ले नयाँ नेता निर्वाचित गरेपछि १२ वर्ष सत्तामा रहेका बेन्जामिन नेतान्याहुले प्रधानमन्त्री पद गुमाएका छन्। दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले ‘परिवर्तनको सरकार’ को नेतृत्व गर्दै शपथ ग्रहण गरेका छन्। अत्यन्तै साँघुरो ६०-५९ बहुमतका आधारमा अभूतपूर्व गठबन्धनको नेतृत्व गर्दै बेनेट संसद्‌बाट प्रधानमन्त्री चुनिएका हुन्। सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार उनी सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन्। त्यसपछि उनले येश अटिड पार्टीका नेता याएर लापिडलाई अर्को दुई वर्षका लागि प्रधानमन्त्री पद हस्तान्तरण गर्नेछन्।

नेतान्याहु इजरेलका हालसम्मकै सर्वाधिक लामो समय सत्तामा रहेका नेता हुन्। इजरेलको राजनीतिमा वर्षौंसम्म वर्चस्व कायम राखेका उनी दक्षिणपन्थी लिकुड पार्टीको प्रमुख तथा विपक्षी दलको नेता रहने छन्। संसद्‌मा भएको छलफलमा बोल्दै नेतान्याहुले भने, “हामी फेरि फर्किने छौं।” मतदान सकिएपछि बेनेटतर्फ हिँडेर गएका उनले प्रधानमन्त्री निर्वाचित उनीसँग हात मिलाएका थिए। तर प्यालेस्टिनीहरूका प्रतिनिधिले इजरेलको नयाँ सरकारलाई खासै चासो नदिने किसिमको प्रतिक्रिया जनाएका छन्।

“यो इजरेलीहरूको आन्तरिक मामिला हो। हाम्रो धारणा स्पष्ट छ। हामी सन् १९६७ को सिमानामा आधारित र जेरूसलेम राजधानी रहेको प्यालेस्टिनी राज्य चाहन्छौं,” प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका एक जना प्रवक्ताले भने। गाजामा नियन्त्रण जमाएको हमास समूहका प्रवक्ताले इजरेललाई एउटा उपनिवेशवादी निकाय भन्दै बलको प्रयोग गरी प्रतिरोध गरेर आफ्नो अधिकारहरू फिर्ता लिनुपर्ने बताए।अमेरिकी राष्ट्रपति जो बाइडनले बेनेटलाई बधाई सन्देश पठाउँदै आफूले उनीसँग काम गर्न चाहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *