२०८० फागुन २१ गते | 4th of March 2024

हरिद्वारमा आयोजीत कुम्भमेलामा सहभागी एक लाख भन्दा बढिको कोरोना परिक्षणको रिपोर्ट नक्कली

खुल्लामन्च
 प्रकाशित: २०७८ असार ३ गते १५:३५

 काठमाडौं –   भारतको उत्तराखण्ड राज्यले निजी प्रयोगशालाहरूले कोभिड परीक्षणको नक्कली प्रतिवेदन दिएको भन्ने आरोप लागेपछि छानबिन गर्न आदेश दिएको छ। हरिद्वारमा गत एप्रिल महिनामा कुम्भमेला आयोजित हुँदा गरिएका एक  लाख वटाभन्दा बढी परीक्षणमा नक्कली नाम, मोबाइल नम्बर र ठेगाना उल्लेख भएको पाइएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। त्यतिबेला राज्य सरकारले मेलामा सहभागी हुन गएका मानिसको परीक्षण गर्न निजी प्रयोगशालाहरूलाई जिम्मा दिएको थियो। कोभिड महामारीको दोस्रो लहर सुरु भएको बेला उक्त मेला आयोजना गर्न दिएको भन्दै उत्तराखण्ड सरकारको चर्को आलोचना भएको थियो।विभिन्न राज्यबाट प्राप्त विवरणअनुसार हरिद्वारबाट फर्किएका धेरै मानिसमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।

नेपालका पूर्वराजा ज्ञानेन्द्र पनि कुम्भमेलामा सहभागी भएका थिए। दिल्ली हुँदै नेपाल फर्किएपछि उनमा र पूर्वरानी कोमलमा कोभिड पुष्टि भएको थियो। सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेर भारतका विभिन्न स्थानमा अक्सिजन र अस्पतालको शय्या अभाव भएको बेला हजारौँ मानिसहरू मास्क नलगाईकन कुम्भमेलामा सहभागी भएका थिए। हरिद्वारमा आयोजित कुम्भमेलामा ९० लाख जनाभन्दा बढी सहभागी भएको बताइन्छ। त्यतिबेला अधिकारीहरूले प्रत्येक व्यक्तिको कोभिड परीक्षण गर्ने बताएका थिए। त्यसका लागि हरियाणा र दिल्लीस्थित प्रयोगशालालाई अधिकांश परीक्षण गर्ने जिम्मा दिइएको थियो।

तर गत साता प्रकाशित विवरणहरूका अनुसार ती प्रयोगशालाले आफ्नो दैनिक कोटाअनुसार परीक्षण गरिएको देखाउन कोभिड परीक्षणको नक्कली प्रतिवेदन दिएको अधिकारीहरूले बताएका छन्। (बिबिसी )

Leave a Reply

Your email address will not be published. Required fields are marked *