२०८१ वैशाख २२ गते | 4th of May 2024

निषेधाज्ञा सत्ता जोगाउने सुरक्षा कवच भयो : काँग्रेस

खुल्लामन्च
 प्रकाशित: २०७८ असार ३ गते १५:५३

काठमाडौं– विपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि भनेर जारी निषेधाज्ञालाई सकारले आफ्नो सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गरेको जनाएको छ।  बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी गराउँदै नेपाली कांगेसका नेता प्रकाशशरण महतले सरकारकै उदासिनता र अर्कमण्यताको कारणले कोभिड–१९ को विस्तार भएको र निषेधाज्ञा लागू गर्नुपर्ने स्थिति आएको बताए। निषेधाज्ञा जारी गरेर पनि सरकारले कोभिड संक्रमण नियन्त्रण र न्यूनीकरणमा प्रभावकारी कदम नचालेको नेता महतले बताए।

असन्तुष्ट जनताहरु पनि निषेधाज्ञामा विरोध गर्न बाहिर निस्किने अवस्था नभएकाले सरकारमा भएका मानिसहरुले त्यसलाई आफूहरु सुरक्षित रहेको रुपमा बुझेका उनको भनाइ छ।  ‘लकडाउन (निषेधाज्ञा)को अवस्थामा नागरिकहरु जति नै सरकारसँग असन्तुष्ट भएपनि सडकमा निस्किन सक्ने अवस्था छैन, त्यसलाई उहाँ (सरकारमा भएका व्यक्ति)हरुले आफ्नो सत्ता जोगाउने कवचको रुपमा लिइरहनु भाछ, त्यो संक्रमणको अवस्थालाई आफ्नो सत्ता जोगाउने अवसरको रुपमा लिइरहनुभएको छ,’ नेता महतले भने, ‘संक्रमणबाट उहाँहरु दुःखी हुनुपर्ने, यसलाई कसरी चाँडोभन्दा चाँडो कम गर्ने, रोक्ने भनेर लाग्नुपर्ने। तर, उहाँहरुले कोभिडका कारण सत्तामा हामी झन सुरक्षित भयौँ। कोहि विरोधमा निस्किन सक्दैन। बाहीर आउन मिल्दैन भनेर उहाँहरु यसमा सहज महसुस गरिरहनुभएको छ।’ बैठकमा कांग्रेसको केन्द्रीय महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्नेगरी प्रस्ताव पेश भएको छ भने स्थानीय तहको महाधिवेशन साउन १२ गतेबाट गर्ने प्रस्ताव छ। यसबारे छलफल गरेर निष्कर्ष निकालिने नेता महतले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *