२०८१ वैशाख २४ गते | 6th of May 2024

चीनमा एक अर्बभन्दा बढी डोज कोभिड–१९ विरुद्धको खोप लगाईयो

खुल्लामन्च
 प्रकाशित: २०७८ असार ६ गते १४:४१

बेइजिङ – चीनले शनिबारसम्ममा देशभर कोभिड–१९ विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ ।   राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ ।
आयोगका अनुसार पछिल्लो पाँच दिनमा मात्र १० करोड डोजभन्दा बढी खोप लगाइएको छ । गत मार्चको अन्त्यदेखि चीनले व्यापक खोप अभियान सञ्चालन गरेको थियो । पहिलो चरणमा २५ दिनको अवधिमा दश करोडबाट २० करोड डोज खोप लगाइएकोमा पछिल्ला १६ दिनमा ३० करोड डोज खोप दिइएको थियो । तर खोप अभियान अझ तिब्र बनाएसँगै छ दिनको अवधिमा ८० करोडबाट ९० करोड खोप लगाइएको थियो । चीनमा गत वर्षदेखि हालसम्म २१ किसिमका खोपहरु क्लिनिकल परीक्षणमा रहेका छन् । त्यसमध्ये चार किसिमका खोपलाई शर्तसहित मार्केटिङको इजाजत दिइएको छ भने तीन किसिमका खोपलाई देशभित्र आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।

चीनमा सञ्चालित खोप अभियानमा १८ वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई समेटिएको छ । तर ३ देखि १७ वर्षको उमेरका बालबालिकालाई पनि खोप दिने योजना अघि बढेको स्वास्थ्य अनुसन्धान आयोगले जनाएको छ । आयोगका उपप्रमुख जेङ इक्सीनले यसै वर्षको अन्त्यसम्ममा कम्तीमा ७० प्रतिशत लक्षित जनसंख्यालाई खोप दिइसक्ने बताउनुभयो । उहाँले खोपका कारण हालसम्म कुनै पनि समस्या नदेखिएको बताउँदै चिनियाँ खोप सुरक्षित रहेको प्रमाणित भइसकेको दाबी गर्नुभयो । कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिमा देखिएका सामान्य लक्षणहरु अन्य नियमित खोपमा झैं सामान्य रहेको पनि उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *