२०८१ साउन १२ गते | 27th of July 2024

प्रधानमन्त्री ओलीले रिक्त मन्त्रालयको जिम्मेवारी अहिले कायम रहेका ४ जना मन्त्रीलाई दिए

खुल्लामन्च
 प्रकाशित: २०७८ असार १० गते १३:५७

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका मन्त्रालयको जिम्मेवारी अहिले कायम रहेका ४ जना मन्त्रीलाई नै दिएका छन्। परराष्ट्र र रक्षा मन्त्रालय आफैँसँग राखेर प्रधानमन्त्री ओलीले अन्य मन्त्रालय मन्त्रीहरूलाई दिएका हुन्। जसअनुसार एकै मन्त्रीले ५ वटासम्म मन्त्रालयको जिम्मेवारी पाएका छन्। उपप्रधानमन्त्री बिष्णु पौडेलले अर्थ र गृहसहित ५ मन्त्रालयको जिम्मेवारी पाएका छन्।  पौडेललाई गृहसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मा दिइएको छ। यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण; युवा तथा खेलकुद; श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाएका छन् ।

भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको थप जिम्मेवारी दिएका छन् । मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन्। केपी शर्मा ओली नेतृत्वमा मिति २०७८/१/३१ गते गठित मन्त्रिपरिषद्‌मा मिति २०७८/२/२१ र मिति २०७८/२/१७ मा भएको नियुक्ति, हेरफेर र कार्य विभाजन हुँदा समावेश भएका दुई जना उपप्रधानमन्त्री, पन्ध्र जना मन्त्री तथा तीन जना राज्यमन्त्रीको नियुक्तिलाई  सर्वोच्च अदालतले रोक लगाएसँगै उनीहरूले सम्हाल्दै आएको मन्त्रालय मौजुदा मन्त्रीहरूलाई थप गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *