२०८१ साउन १२ गते | 27th of July 2024

सर्वोच्च पदक भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेलसेवा सञ्चालनमा

खुल्लामन्च
 प्रकाशित: २०७८ असार १० गते १४:२७

लण्डन- संयुक्त अधिराज्य(बेलायत) को सर्वोच्च पदक भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेलसेवा सञ्चालनमा आएको छ । लन्डनको प्याडिङ्टन स्टेशनमा ग्रेट वेस्टर्न रेल्वेद्धारा आयोजित नामकरण समारोहमा पुनका छोरा अर्जुन र छोरी मेघकुमारी पुनले रेलसेवाको शुभारम्भ गर्नुभएको थियो । यससँगै भिसी पुनको नाम कुँदिएको रेल बुधबारदेखि लण्डन प्याडिङटन–ब्रिस्टोल सेवामा शुरू भएको छ ।
दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्षको अवसर पारेर गत वर्ष गरिने भनिएको कार्यक्रम कोरोना महामारीका कारण एक बर्षपछि सरेको हो । समारोहमा बेलायतकी चर्चित अभिनेत्री जोआना लुम्लेले पुनको नाम इतिहासमा लेखिएको बताउँदै रेलवे सेवाको नाम पुनको नाममा गरिँदा उहाँको सदा स्मरण हुने बताउनुभयो । ग्रेट वेस्टर्न रेल्वे सेवाकी मानव संसाधन निर्देशक रुथ बस्वीले ग्रेट वेस्टर्न रेलवेले समुदायको पहिचान, स्वामित्व र सहयोगका लागि लामो समयदेखि रेल्वेको नाम विभिन्न व्यक्तिका नाममा गरिरहेको जानकारी दिनुभयो । पुनको परिवारका तर्फबाट गोर्खा ब्रिगेड एसोसिएशनका सचिव मणि राईले ग्रेट वेस्टर्न रेल्वेलाई धन्यवाद दिनुभएको थियो ।
पुनका छोरा अर्जुन पुनले यस नामकरणले परिवारको मात्र नभई सिङ्गो गोरखा सैनिकको सम्मान भएको गोरखापत्रलाई बताउनुभयो । उहाँले गोरखाको सम्मानले सम्पूर्ण नेपालीको सम्मान भएकोमा खुशी व्यक्त गर्नुभयो । कुनै पनि रेल्वे कम्पनीले गोरखाको नाममा रेलवेको नामकरण गरेको यो सम्भवतः पहिलो हो ।
भिक्टोरिया क्रस प्राप्त गर्ने १३ जना गोरखा सैनिकमध्ये हाल एकजना मात्र जीवित हुनुहुन्छ । दोस्रो विश्वयुद्धमा बर्माको लडाइँमा सहभागी हुनुभएका पुनले २१ वर्षको उमेरमा भिक्टोरिया क्रस पाउनुभएको थियो । पुनको सन् २०११ अप्रिल २० मा निधन भएको थियो । पुनकी श्रीमती नेपालमा भएकाले कार्यक्रममा सहभागी हुन नसकेको छोरा अर्जुनले बताउनुभयो । कार्यक्रममा पूर्व गोरखाहरुको उपस्थिति थियो ।

( गोरखापत्रबाट )

Leave a Reply

Your email address will not be published. Required fields are marked *