काठमाडौं – निरन्तर वर्षाका कारण आएको पहिरोले गर्दा मुलुकका विभिन्न राजमार्गहरू प्रभावित भएको अधिकारीहरूले जनाएका छन्। पहिरोका कारण अवरुद्ध भएका सडक खुलाउने कार्य जारी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। “पहिरो त्यति ठूला छैनन् तर कहीँ पानीका कारण, कहीँ लेदोका कारण र कहीँ पहिरोकै कारण समस्या भएको छ। कोरोनाभाइरस महामारीका कारण निषेधाज्ञा लागु भएका कारण राजमार्गहरूमा विगतमा जस्तो सवारीको चाप भने नरहेको अर्यालले जानकारी दिए।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिहीवार बिहानैदेखि पानी परेको भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने बिहान ६ बजे नै खुलेको सूचना अधिकारी तेजबहादुर पौड्यालले जानकारी दिए। उनले पोखरा विमानसस्थलमा उडान हुन नसके पनि अन्य विमानस्थलको अवस्था समान्य रहेको बताए। असार १ गतेदेखि बिहीवार बिहानसम्म नेपालमा वर्षाका कारण भएका विपद्मा २८ जनाको मृत्यु भएको र २६ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ। घाइते हुनेको सङ्ख्या २२ छ। पछिल्ला केही दिनको वर्षाका कारण आएको पहिरोले गर्दा पृथ्वी राजमार्गको सडक खण्ड धादिङ र तनहुँ जिल्लामा अवरुद्ध भयो । त्यस्तै मुग्लिङ-नारायणगढ खण्ड, काभ्रे जिल्लामा बीपी राजमार्ग र ललितपुर हुँदै हेटौँडा जाने सडक अवरुद्ध भएको छ। यसअघि नै गएका पहिरोका कारण सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, बाजुराको मार्तडी-कोल्टी र बेँसीसहर-मनाङ सडक खण्ड अवरुद्ध रहेको बताइएको छ। नेपालका पाँच वटा प्रदेशका विभिन्न भागमा बुधवारबाट मनसुन थप सक्रिय भएको र शुक्रवारसम्म धेरै स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सरकारले नदी तटीय क्षेत्र र भिरालो वस्तिहरूमा सतर्कता अपनाउन सर्वसाधारणहरूलाई आग्रह गरेको छ। केही दिनअघि सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा अचानक आएको विनाशकारी बाढीका कारण हेलम्बु र मेलम्ची क्षेत्रका कैयौँ सर्वसाधारण विस्थापित भएका थिए।