काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनको खतरा टरेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ महाधिवेशन आयोजक कमिटी भङ्ग गरेर केन्द्रीय कमिटी बैठक बोलाए पनि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह बैठकमा उपस्थित भएन । यसले बिभाजनको सम्भावनालाई कायमै राखेको छ ।
ओली पक्षले आयोजक कमिटीबाट केन्द्रीय कमिटीमा फर्कंदै गर्दा यसअघि गरिएको कारबाही र स्पष्टीकरणसमेत निष्क्रिय तुल्याएको थियो । र, फर्कने वातावरण बनाउन कोसिस गरेको थियो । तर, पार्टी अध्यक्ष ओलीले एकताअघि अर्थात् जेठ २ अगाडिको कमिटीको नभइ चैत्र ७ पछिको बैठकको निरन्तरता दिएको भन्दै नेपाल समूह बैठकमा उपस्थित भएन । शुक्रबार बसेको केन्द्रीय कमिटीको १३ औँ बैठकले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन सोमबार साँझ ५ बजेसम्मको समयसीमा तोकेको छ ।