काठमाडौँ – सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिड-१९ विरुद्धको खोप तत्काल नागरिकलाई उपलब्ध गराउन सुझाव दिएका छन् । देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहत र उद्धारको कार्यक्रम ल्याउन पनि सुझाव दिएका छन् । बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सैद्धान्तिक र समीक्षात्मक छलफल भएको बताए । ‘यो सरकार बनेपछि पहिलो पटक सत्ता गठबन्धनको बैठक बसेको हो ।
कोभिड-१९ विरुद्धको भ्याक्सिन जतिसक्यो छिटो उपलब्ध गराउन सरकारले गरेको निर्णय कार्यान्वयनमा तिव्रता दिन शीर्ष नेताहरूले सुझाव दिनुभयो,’ खड्काले भने । बैठकमा सरकारले विश्वासको मत लिने, बोलाइएको संसद् अधिवेशनमा कसरी अगाडि बढ्ने र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो ।