काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । शुक्रबार एक विज्ञप्तिमाफर्त मन्त्रालयले चैत मसान्तभित्र खोप लगाइसक्नेगरी सरकारले खोपको व्यवस्थापन गरिरहेको जनाएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपाललाई आवश्यक थप खोपका लागि चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता प्रक्रिया अघि बढिसकेको छ । साथै कोभ्याक्स सुविधामार्फत् जापान सरकारले अनुदानमा दिने १६ लाख र भारतबाट खरिद गरी बाँकी रहेको १० लाख डोज खोप प्राप्त हुँदा असोजभित्र एक करोड ८३ लाख ८२ हजार ८५० डोज खोप प्राप्त हुने मन्त्रालयले जनाएको छ । यसैगरी, कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरी डेढ करोड डोज खोप र १२ वर्षमाथिका बालबालिकालाई ६० लाख डोज फाइजरको खोपका लागि सकारात्मक रूपमा प्रक्रिया अगाडि बढिरहेको मन्त्रालयले जनाएको छ । यस्तै, गाभी कोभ्याक्सबाट निशुल्क २० प्रतिशत जनसंख्याका लागि प्राप्त हुने एक करोड १३ लाख डोज पनि प्राप्त भएपछि आगाी चैत मसान्तसम्म खोप सबै नेपालीहरूले खोप पाउने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।