२०८१ वैशाख २४ गते | 6th of May 2024

एनआरएनए युकेका संस्थापकहरुले गरे निर्वाचन संयोजक कडेलको राजीनामा माग (पत्र सहित )

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १७ गते १५:३१

लण्डन – गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए युके)को चुनावी कार्यक्रम तालिका पटक-पटक सार्नुका साथै अनावश्यक कुरामा अलमल गर्दै समय बिताएर संघको वैधानिकतालाई नै संकटमा पार्ने काम गरीएको भन्दै एनआरएन युकेका संस्थापक अध्यक्ष, संस्थापक पदाधिकारीहरु तथा सदस्यहरुले खेद व्यक्त गरेका छन् ।

संस्थाको गरिमा र समुदायमा नै आंच आउने क्रियाकलाप गरेर संस्थालाइ विवादमा लैजानु गलत र अक्षम्य कदम भएको भन्दै एक संयुक्त पत्र मार्फत उनीहरुले निर्वाचन समितिका संयोजक महेन्द्र राज कडेलको राजीनामा माग गरेका छन् । निर्वाचन समितिका सदस्य, सल्लाहकारहरु र सम्पूर्ण उम्मेदवारहरुलाई नै गुमराहमा राखी गरिएका यस्ता कदमले निर्वाचन समितिको विश्वसनियतामाथि नै संकट आएको उनीहरुले जनाएका छन् ।

पत्रमा भनिएको छ, “३१ जुलाई २०२१ मा मतदान गर्ने भनी कार्यक्रम प्रकाशित गर्ने तर विना कुनै भरपर्दो कारण ब्रिटिश कम्पनीले तोकिएको समयमै चुनाव गराउन सक्छु भन्दाभन्दै पनि चुनाव पर सार्ने गरिंदा बेलायतस्थित नेपाली समाजमा भ्रम, आशंका र संस्थाप्रति नै अविश्वास पैदा भएको छ। त्यसैले यस्तो स्थिति उत्पन्न हुनुमा तपाईंको व्यवहार नै प्रमुख जिम्मेवार देखिएकाले यो सम्पूर्ण प्रकरणको नैतिक जिम्मेवारी लिइ मार्गप्रशस्त गरि दिनु हुन हामी सुझाव दिन चाहन्छौं ।”

पत्रमा एनआरएनए युके संरक्षक परिषद्, केन्द्रिय पर्यवेक्षक लगायत वर्तमान कार्य समितिले सक्षम, नयाँ चुनाव संयोजक चयन गरि जति सक्दो चांडो चुनाव कार्यक्रम शुरु गर्न पनि सुझाव दिइएको छ। एनआरएनए युकेका संस्थापक अध्यक्ष महन्त श्रेष्ठ, संस्थापक संयोजक प्रा. कुल बहादुर लुइँटेल,संस्थापक उपाध्यक्षद्वय अशोक श्रेष्ठ र उपाध्यक्ष विजय थापा, संस्थापक सह-संयोजक एबम सचिव डा. कृष्ण उपाध्याय, संस्थापक कोषाध्यक्ष शंकर भण्डारी तथा संस्थापक सदस्यहरु कृष्ण भट्ट,शान्त विनोद लामिछाने र बिपिन निरौलाद्वारा संयुक्त रुपमा उक्त पत्र पठाईएको छ।

पत्र जस्ताको तस्तै :

विषय: एनआरएनए युकेको निर्वाचन बारे

श्री महेन्द्र राज कडेल ज्यू,
निर्वाचन प्रमुख संयोजक
एनआरएनए युके निर्वाचन समिति २०२१

मिती: 31 July 2021

उक्त विषयमा एनआरएनए युकेको शुक्रबार राती १२ बजेबाट मतदान गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको तर त्यसको केहि घण्टा अघि आकस्मिक रुपमा मतदान कार्यक्रम रोकिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। बेलायतस्थित नेपाली समाजको एक जिम्मेवार सदस्य तथा एनआरएनए युकेको स्थापना काल देखि नै संस्थाको हित र गरिमा बढाउन चासो राख्दै आएका कारण तपाईंलाई निम्न सुझाव दिन चाहन्छौं।

१. एनआरएनए युके कार्य समितिले तपाईंलाई निर्वाचन प्रमुख संयोजक तोके पछि पनि महिनौं सम्म तपाईंले समिति विस्तार गर्नु भएन। पछि एक पक्षीयरुपमा समिति गठन गर्नु भएको भन्ने आरोप लाग्यो। त्यस्तै अनलाइन निर्वाचनको लागि समयमै चुनाव गराउने कम्पनि (भेंडर) संग सम्झौता गर्नु पर्नेमा महत्वपूर्ण समय खेर फाली अन्तिम समयमा आएर एउटा ब्रिटिश कम्पनी, ChoiceVoting , संग गत मंगलबार (जुलाई २७ तारिख) मा मात्रै सम्झौता गरिएको विवरण सार्वजनिक भयो। चुनाव हुनु केवल ४ दिन अघि मात्रै भेन्डरसंग सम्झौता गर्ने तपाईंको निर्णयले तपाईंको असक्षमता प्रदर्शन गरेको छ भन्ने कि नभन्ने?

२. तपाईं संयोजक नियुक्त भए देखिका तपाईंका व्यवहार अपारदर्शी र एउटा खास उम्मेदवार वा पक्षलाई फाइदा पुराउने खालका छन् भन्ने आरोप लागेको छ। तपाईं के भन्नु हुन्छ ?

३. ३१ जुलाई २०२१ मा मतदान गर्ने भनी कार्यक्रम प्रकाशित गर्ने तर विना कुनै भरपर्दो कारण ब्रिटिश कम्पनीले तोकिएको समयमै चुनाव गराउन सक्छु भन्दाभन्दै पनि चुनाव पर सार्ने गरिंदा बेलायतस्थित नेपाली समाजमा भ्रम, आशंका र संस्थाप्रति नै अविश्वास पैदा भएको छ। त्यसैले यस्तो स्थिति उत्पन्न हुनुमा तपाईंको व्यवहार नै प्रमुख जिम्मेवार देखिएकाले यो सम्पूर्ण प्रकरणको नैतिक जिम्मेवारी लिइ मार्ग प्रशस्त गरि दिनु हुन हामी सुझाव दिन चाहन्छौं ।

साथै हामी एनआरएनए युके संरक्षक परिषद्, केन्द्रिय पर्यवेक्षक लगायत वर्तमान कार्य समितिले सक्षम, नयाँ चुनाव संयोजक चयन गरि जति सक्दो चांडो चुनाव कार्यक्रम शुरु गर्न पनि हामी सुझाव दिन्छौं।

महन्त श्रेष्ठ, संस्थापक अध्यक्ष, एनआरएनए युके
प्रा. कुल बहादुर लुइँटेल, संस्थापक संयोजक, एनआरएनए युके
अशोक श्रेष्ठ, संस्थापक उपाध्यक्ष
विजय थापा, संस्थापक उपाध्यक्ष
डा. कृष्ण उपाध्याय, संस्थापक सचिव
शंकर भण्डारी, संस्थापक कोषाध्यक्ष

संस्थापक सदस्यहरु:
कृष्ण भट्ट
बिपिन निरौला
शान्त विनोद लामिछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *