२०८१ साउन १२ गते | 27th of July 2024

ओलीको कारबाहीबाट विचलित हुदैनौं : माधव नेपाल

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १ गते १३:३३

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी पुनर्गठन गर्ने अवस्थामा आफूहरू पुगेको बताएका छन्। मंगलबार अपरान्ह भर्चुअल बैठकमा सम्बोधन गर्दै नेता नेपालले जनताको विश्वास जित्ने गरी काम गर्न नेता तथा कार्यकर्तालाई अपिल गर्दै नआत्तिन भनेका छन्। ‘पार्टी पुनर्गठन गर्ने अवस्थामा पुगेका छौं। क्रान्तिकारी पार्टी बनाइने हो। यो जनताको प्यारो शक्ति हुनेछ,’ नेता नेपालले भने, ‘अहिले अरू पार्टीसँग सहकार्य गर्ने सम्भावना छैन। तर हामी वामपन्थी शक्तिहरूलाई समेटेर जान्छौं।’

उनले केपी शर्मा ओलीलगायत पनि एकताको पक्षमा आए पार्टी एकता हुने पनि बताए। ‘केपी ओलीले पार्टी एकताको ढोका बन्द गरिसक्नुभएको छ। मलाई गद्दार र देशद्रोहीको उपाधि दिनुभएको छ। उहाँ पार्टी विभाजन गर्न उद्दत हुने दोष हामीलाई दिने?,’ नेता नेपालले प्रश्न गरे। ओलीले आफूसहित १४ सांसदलाई कारबाही गरेकोमा यसबाट विचलित नहुने नेपालले बताए। कारबाहीबाट विचलित हुने छैनौं। नयाँ पार्टी खोले पनि केपी ओलीले गल्ती स्वीकार गरेर आए अहिले, भोलि, तीन महिना, छ महिना, चुनाव अघि वा पछि पनि एकता हुन सक्छ। तर सही विचारमा आधारित भएर मात्रै,’ उनले भने।

उनले पार्टी र आन्दोलनप्रति नयाँ उत्साह देखिएको पनि बताएका छन्। अध्यक्ष ओली दक्षिणपन्थी अवसरवादी भएको आरोप उनको थियो।ओलीमा व्यक्तिवाद हाबी भएको र सामूहिकवाद हराएर गएको उनले बताए। ‘उहाँमा चरम व्यक्तिवादी प्रवृत्तिको नांगो उदाहरण देखिएको छ,’ उनले भने, ‘पार्टी केपीको प्राइभेट कम्पनी बन्ने स्थितिमा पुगेपछि हामीले समानान्तर गतिविधि अगाडि बढाएका हौं।’

ओलीले पार्टी एकताका नाममा विभिन्न जाल फालेको पनि उनले बताए। ‘उहाँले झुक्याउने काम मात्रै गर्नुभयो। वचनमा कहिल्यै पनि इमान्दार हुनुभएन। सहमति पालना गर्नुभएन,’ उनले भने, ‘उपयोग गर्ने र षड्यन्त्र गर्ने गर्नुभयो।’ ओलीले पार्टीभित्रको एउटा शक्तिलाई सखाप पारेको र महन्थ ठाकुर पक्षलाई साथ दिएको पनि उनले आलोचना गरेका थिए।

उनले आफूहरूमाथि अन्याय भएकाले विद्रोह गर्ने पनि बताए। ओलीले आजै केन्द्रीय समिति २०३ बाट २६० सदस्यीय बनाएको र आफूहरूलाई कारबाही गरेको पनि उनको भनाइ थियो। आफूले आजै केन्द्रीय समिति भेला गरेर पार्टी एकताका पक्षमा अन्तिमसम्म लाग्ने बताएको पनि नेपालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *