२०८१ वैशाख २१ गते | 3rd of May 2024

सिद्धबाबा सुरुङमार्ग  निर्माणका लागि नौवटा कम्पनीको आवेदन

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ३ गते १४:५२

काठमाडौं- सिद्धबाबा सुरुङमार्ग  निर्माणका लागि नौवटा कम्पनीले आवेदन दिएका छन्। सडक विभाग मातहतको गुणस्तर अनुसन्धान विकास केन्द्रले जेठ ९ गते आह्वान बोलपत्र गरेको अन्तराष्ट्रिय बोलपत्रमा नेपाली जेभीसहित आठवटा चिनियाँ र एउटा भारतीय कम्पनीले आवेदन दिएका छन्। ४५ दिने अन्तर्राष्ट्रिय बोलपत्रमा कोरोना भाइरस (कोभिड -१९) का कारण एक महिना समय थपेर साउन २४  गतेसम्म इच्छुक कम्पनीले आवेदन दिन सकिने व्यवस्था मिलाइएको थियो। जसमा चाइना स्ट्रेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेड (बेइजिङ), चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड (वुहान सिटी), चाइना फष्ट हाइवे इन्जिनियरिङ कर्पोरेशन लिमिटेड (बेइजिङ) ले संयुक्त उपक्रम (जेभी) नबनाइ आवेदन दिएका छन्।

चिनियाँ कम्पनी जेडआईसीजीले नेपाली शर्मा एण्ड कम्पनीसंग जेभी बनाएर आवेदन दिएको छ। जसमा लिड शर्मा एण्ड कम्पनीले गर्नेछ। एसीसीई चिनियाँ कम्पनीले नेपाली कम्पनी अनक कन्स्ट्रक्सनसंग जेभी बनाएर आवेदन दिएको छ। जसमा अनक कन्स्ट्रक्सन लिड कम्पनी रहेको छ। यस्तै, सिनो हाइड्रो कर्पोरेशन लिमिटेड / पावर चाइना नर्थ वेष्ट इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र पावर चाइना  रोड ब्रिज ग्रुप कर्पोरेशन लिमिटेड (बेइजिङ)ले तीनवटा चिनियाँ कम्पनीसंग जेभी बनाएर आवेदन दिएको छ।

चाइना सिभिल इन्जिनियरिङ  कन्स्ट्रक्सन  कर्पोरेशन/ चाइना रेलवे १४औं ब्युरो ग्रुप कम्पनी लिमिटेड र चाइना रेलवे सियुआन सर्भे एण्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड (बेइजिङ)ले पनि तीनवटा  चिनियाँ कम्पनी मिलेर आवेदन दिएका छन्। चाइना ओभरसिज  इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड/ चाइना रेलवे २ नम्बर इन्जिनियरिङ ग्रुप कर्पोरेशन लिमिटेड (बेइजिङ) दुई चिनियाँ कम्पनीको जेभी बनाएर आवेदन दिएका छन्। केएमसी/भीसीएपीएल जेभीले पनि आवेदन दिएको छ। केएमसी भारतीय कम्पनी हो भने भीसीपीएल ( भ्याली कन्स्ट्रक्सन प्राइभेट लिमिटेड) नेपाली कम्पनी हो।  जेभीको लिड नेपाली कम्पनीले नै गर्नेछ।

पाल्पा-बुटवल सडक खण्डअन्तर्गत वर्षौंदेखि जोखिम क्षेत्र बनेको सिद्धबाबामा सुरुङमार्ग निर्माण गर्न लागिएको हो।  इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा यो निर्माण गर्न लागिएको छ। यस्तो मोडलमा निर्माण गर्दा डिजाइन, खरिददेखि कन्ट्रक्सनसम्मको काम निर्माण कम्पनी आफैंले गर्नुपर्छ।  त्यसका लागि आवश्यक बेसलाई सर्भे भने आयोजना आफैंले उपलब्ध गराउनुपर्छ। वेसलाइन सर्भेमा रहेर निर्माणको जिम्मा पाएको कम्पनीले डिजाइन गरेर स्वीकृति लिएपछि निर्माण अघि बढाउन पाउँछ। सरकारले स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशन (एसडीसी) को आर्थिक र प्राविधिक सहयोगमा एक वर्ष लगाएर सुरुङमार्गको वेसलाइन सर्भे गराएको हो। सोही आधारमा ठेक्का प्रक्रिया अघि बढाइएको छ। गुणस्तर अनुसन्धान विकास केन्द्रका प्रमुख डा.विजय जैसीका अनुसार ठेक्का पाउने कम्पनीले  पाँच बर्षमा निर्माण सकेर हस्तान्तरण गर्नुपर्नेछ। उक्त पाँच बर्षभित्र ९ महिना डिजाइन अवधि र बाँकी समय निर्माणको समयाअवधि हुनेछ। निर्माण पुरा गरेपछि पाँच वर्षसम्म सञ्चालन र मर्मत कम्पनी आफैले गरेर देखाउनु पर्नेछ। त्यसका लागि बार्षिक रुपमा मर्मत खर्च उपलब्ध गराइनेछ।

आयोजनाका अनुसार अहिले प्राविधिक मुल्याङकनका लागि नौ कम्पनीले आवेदन दिएका हुन्। उक्त कम्पनीमध्येबाट प्राविधिक रुपमा पास हुने कम्पनीहरुसंग आर्थिक प्रस्तावमा मागिनेछ। आर्थिक प्रस्तावमा सबैभन्दा कम कबोल गर्ने कम्पनीले ठेक्का पाउनेछ। तीन महिना सबै प्रक्रिया सकेर ठेक्का सम्झौता गर्ने योजना रहेको डा. जैसीले बताए। सुरुङमार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँमा नबढ्ने गरी बहुवर्षीय ठेक्का दिन अर्थ मन्त्रालयले सहमति दिएको छ। त्यहीभित्र रहेर निर्माण हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *