काठमाडौं – नेकपा (एकीकृत समाजवादी) दर्ताको चरणमा रहेका नेता माधवकुमार नेपाल सोमबार साँझ चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका छन्। निर्वाचन आयोगले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न बुधबार बोलाएको छ। दुई दिनअघि नेता नेपाल आफूनिकट सांसद र केन्द्रीय सदस्यलाई लिएर चन्द्रागिरि रिसोर्टमा पुगेका हुन्। नेता नेपाल आज रिसोर्टमै बस्नेछन्। रिसोर्टमा झन्डै सय जनाका लागि आज कोठा बुक गरिएको स्रोतले जानकारी दिएको छ।
नेता नेपालनिकट स्रोतका अनुसार नयाँ पार्टी दर्ताका लागि समर्थन गरेका केन्द्रीय सदस्य सांसदहरूको बैठकका लागि चन्द्रागिरि पुगेका हुन्। उनीहरू बुधबार बिहानैसम्मै चन्द्रागिरिमै बस्ने स्रोतले जानकारी दिएको छ। यसअघि माधव नेपालसँग नगएका एमालेका नेताहरूले आजै अध्यक्ष केपी शर्मा ओलीसँग उनको निवास बालकोटमा लामो छलफल गरेका थिए। छलफलमा सहभागी एमाले सचिव योगेश भट्टराईले ओली १० बुँदे कार्यान्वयन गर्न सहमत भएको र भोलि बिहान स्थायी कमिटी बैठक बस्ने बताएका थिए। भट्टराईले अब आफूहरूले माधव नेपाललाई भेटेर नयाँ पार्टी दर्ताको प्रक्रिया फिर्ता गर्न भन्ने बताएका थिए। नेपालसहितका नेताहरू चन्द्रागिरि गएपछि अब उनलाई भेट्न चन्द्रागिरि नै पुग्नु पर्ने भएको छ। यसअघि नेपाल पक्षमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, भीम आचार्य, रघुजी पन्तहरू अहिले पार्टी एकताका पक्षमा छन्।