२०८१ साउन १२ गते | 27th of July 2024

भीम आचार्य बने प्रदेश १ को मुख्यमन्त्री

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १० गते १२:०५

काठमाडौं- प्रदेश १ का मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन्। बिहीबार उनले प्रदेश प्रमुख सोमनाथ प्यासीसँग शपथ लिएका छन्।शपथ लगत्तै उनले पदभार ग्रहण गरेका छन्।  शेरधन राईले आजै संसदीय दलको नेताबाट राजीनामा दिएका थिए। साथै, प्रदेश प्रमुख प्यासीलाई पनि मुख्यमन्त्रीबाट राजीनामा बुझाएका थिए। आचार्यलाई आजै एमालेले संसदीय दलको नेतामा चयन गरेको थियो।

आचार्यले संविधानको धारा १६८(१) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्। २०७४ माघ २६ गते भएको संसदीय दलको नेतामा राईले आचार्यलाई संसदीय दलको नेतामा पराजित गर्दै मुख्यमन्त्री भएका थिए। त्यतिबेला राईले २६ मत ल्याएका थिए। आचार्यले भने २४ मत पाएका थिए। ५१ मत मध्ये एक मत बदर भएको थियो। ४३ महिनापछि उनै आचार्यले राईलाई संसदीय दलको नेता र मुख्यमन्त्रीबाट प्रतिस्थापन गरेका हुन्। आचार्य नेकपा (एमाले)का सचिवसमेत हुन्। उनी सुनसरी–१ (ख)बाट विसं २०७४ को निर्वाचनामा २० हजार २११ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। यसअघि उनी संविधानसभा सदस्यमा सुनसरी क्षेत्र नं ६ बाट विजयी भएका थिए।

विसं २०१६ वैशाख १४ गते धनकुटामा जन्मिएका आचार्य लामो सयमदेखि सुनसरीको इनरुवामा स्थायी बसोबास गर्दै आएका छन्।   सन् १९९५ देखि विद्यार्थीबाट राजनीति यात्रा सुरु गरेका आचार्य सन् १९९७ देखि एमाले पार्टीमा सक्रिय छन्। विसं २०७१ मा सुशील कोइराला नेतृत्वको सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका थिए। नेकपा एमालेका वरिष्ठ नेता हाल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालनिकट भएपनि उनले पार्टी विभाजनमा नेता नेपाललाई साथ दिएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *