२०८१ वैशाख २१ गते | 3rd of May 2024

चालु आर्थिक वर्षको  पहिलो महिनामै डेढ खर्ब भन्दा बढीको आयात

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ११ गते १४:३२

काठमाडौं – चालु आर्थिक वर्षको  पहिलो महिनामै डेढ खर्ब भन्दा बढीको आयात भएको छ ।  भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७८–०७९ को पहिलो महिना साउनमा १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको आयात भएको छ ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.६६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो महिनामा ८५ अर्ब ८० करोड ७९ लाख ८९ हजारको आयात भएको थियो । कोभिड नियन्त्रणको लागि सरकारले गरेको पहिलो चरणको लकडाउन खुलेर आर्थिक गतिविधि सामान्य हुँदै गरेको अवस्थामा गत आर्थिक वर्षको पहिलो महिनामा आयात तुलनात्मक रुपमा कम रहेको थियो ।

आयातसँगै चालु आर्थिक वर्षको पहिलो महिनामा निर्यात पनि बढेको छ । आयातित पाम र सोयाबिन तथा  सनफ्लावर तेल धानेको भए पनि साउनमा २० अर्ब ७६ करोड ५१ लाख १७ हजारको निर्यात भएको छ ।  जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११५.८५ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो महिनामा निर्यात ९ अर्ब ६२ करोड  ४९ हजारको मात्रै भएको थियो । आयातको तुलनामा निर्यातको वृद्धिदर उच्च भए पनि कुल वैदेशिक व्यापारमा आयातको भन्दा निर्यातको हिस्सा अत्यन्त न्युन भएकोले  नेपालको वैदेशिक व्यापार घाटा पनि उच्च भएको छ ।  चालु आर्थिक वर्षको पहिलो महिनामै  कुल १ खर्ब  ७१ अर्ब ४९ करोड ६८ लाख ३६ हजारको  वैदेशिक व्यापार  हुँदा १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख २ हजार वैदेशिक व्यापार घाटा भएको छ ।

गत आर्थिक वर्षको यही अवधिको ७६ अर्ब १८ करोड ७९ लाख ४० हजारको तुलनामा व्यापार घाटा ७०.५९ प्रतिशतले बढेको हो । आयातको तुलनामा निर्यातको वृद्धि उच्च हुँदा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा गत आर्थिक वर्षको ८९.९२ प्रतिशतबाट ८७.८९ प्रतिशतमा झरेको छ भने निर्यातको हिस्सा १०.०८ प्रतिशतबाट बढेर १२.११ प्रतिशत पुगेको छ ।

निर्यात व्यापार आयातित सोयाबिन र पाम तेलमा निर्भर

चालु आर्थिक वर्षको पहिलो महिनामा नै निर्यात व्यापार शत् प्रतिशत भन्दा माथिले बढे पनि निर्यात व्यापारमा स्वेदशी उत्पादन भन्दा पनि आयातित सोयाबिन र पाम तेलले धानेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा सबैभन्दा धेरै कच्चा सोयाबिन तेल ८ अर्ब ३२ करोड  ८९ लाख ९७ हजारको आयात भएको छ । सोही अवधिमा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने बस्तुमा सोयाबिन तेल सर्वाधिक ८ अर्ब ९८ करोड ६४ लाख २५ हजारको भएको छ ।

सोयाबिन तेलपछि पाम तेल ९४ करोड ३९ लाख ५६ हजार, कार्पेट तथा टेक्सटाइल ८० करोड १२ लाख २२ हजार  र सनफ्लावर बिउ र सनफ्लावर तेल ७९ करोड १९ लाख २३ हजारको निर्यात भएको छ ।

निर्यात हुने शीर्ष वस्तुहरुमध्ये  धेरैजसो  तेस्रो मुलुकबाट आयात भएर नेपालमा केही ‘भ्यालु एड’ भइ भारत निर्यात हुने गरेको छ ।

सोयाबिन तेलपछि धेरै निर्यात भएको पाम तेल पनि २ अर्ब ४० करोड १८ लाख ३३ हजारको आयात भएको छ ।

यस्तै सन्फ्लावर तेल १ अर्ब ४७ करोड ५७ लाख ६१ हजारको आयात भएको छ ।

नेपालमा कच्चा सोयाबिन तेलपछि डिजेल ६ अर्ब ६४ करोड ५८ लाख ९७ हजार, स्टील बिलेट ६ अर्ब ४५ करोड ४६ लाख ९१ हजारको आयात भएको छ ।

त्यस्तै टेलिफोन नेटवर्क तथा अन्य वायरलेश नेटवर्कका तथा त्यसका लागि आवश्यक उपरकण ४ अर्ब ८२ करोड ६७ लाख ८३ हजार, पेट्रोल ४ अर्ब ६१ करोड १६ लाख ६४ हजार, खाना पकाउने  एलपी ग्यास ३ अर्ब  ५५ करोड ८७ लाख ८ हजार, सुन ३ अर्ब १६ करोड ४७ लाख ७९ हजार र  चाँदी २ अर्ब ६२ करोड १७ लाख ७७ हजारको आयात भएको भन्सार विभागको तथ्याङक छ ।

नेपालालाई पहिलो महिनामा वैदेशिक व्यापारबाट कुल ३९ अर्ब १९ करोड ४३  लाख २३ हजार राजश्व प्राप्त भएको छ ।

One thought on “चालु आर्थिक वर्षको  पहिलो महिनामै डेढ खर्ब भन्दा बढीको आयात

Leave a Reply

Your email address will not be published. Required fields are marked *