काठमाडौं – नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले यही भदौ ८ गतेदेखि सुरु गरेको रिले अनशन पाँच दिनपछि तोडिएको छ । जिल्ला सभापतिहरूले उठाएका माग सम्बोधनका लागि शीर्ष नेताहरू तयार भएपछि क्रियाशील सदस्यता विवाद समाधान समितिका तर्फबाट तीन नेताले शनिबार अनशन तोडाएका हुन् ।
क्रियाशील सदस्यता विवाद समाधान समितिका संयोजक कृष्णप्रसाद सिटौला तथा सदस्यहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखकले शीर्ष नेताहरूबीचको सहमति जानकारी गराउँदै जिल्ला सभापतिहरूले उठाएका माग सम्बोधन गर्ने आश्वासन दिएपछि जिल्ला सभापतिहरूले अनशन अन्त्य गरेका हुन् ।