२०८१ साउन ११ गते | 26th of July 2024

केपी ओलीको प्रवृत्तिनै मान्छेको चरित्र हत्या गर्ने हो : माधवकुमार नेपाल

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १२ गते १५:०८

काठमाडौं –  नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरूलाई पार्टीमा आउन आह्वान गरेका छन् । पार्टी विभाजनपछि आफूहरूलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरू पार्टीमा आए नेतृत्त्व छोड्न तयार रहेको घोषणा समेत उनले गरे । आफ्नो पार्टीनिकट पेसागत महासंघ, नेपाल वाग्मती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले पदका लागि कहिल्यै पनि लडाइँ नगरेको पटक–पटक दोहोर्‍याए ।

एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी गठन गर्नुपरेको उनले तर्क गरे । आफूविरुद्ध ओलीले कुप्रचार गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे । “खाली कुप्रचारबाहेक केही पनि छैन । यस्ता झुटा प्रचारको भ्रममा कोही पनि नपर्नुहोस्,” उनले भने, “उनीहरूको काम नै गोयबल्स शैलीको प्रचार गर्ने हो । मान्छेको चरित्र हत्या गर्ने प्रवृत्ति हो । यस्ता प्रवृत्ति भएका मान्छेहरू इमानदार, क्रान्तिकारी कम्युनिस्ट हुन सक्छन् ?” अध्यक्ष नेपालले समाजवादको बाटो तय गर्दै देश र जनताको हितमा केन्द्रित भई काम गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको पनि बताए । सो अभियानमा पदलोलुप नभई काम गर्न उनले पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *