काठमाडौं – मन्त्रिपरिषद् विस्तार आगामी बुधबार (भदौ १६) पछि मात्र हुने भएको छ । गत असार २९ गते नै बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारका गठबन्धन दलहरूको आन्तरिक समस्याले मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । पछिल्लो समय प्रधानमन्त्री देउवाले ताकेता गरेपनि जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीले निर्णय गर्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने दलहरूका आ–आफ्ना समस्याले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएका छन् । उनले पनि अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताए । जसपाका नेता राजेन्द्र श्रेष्ठकाअनुसार जसपा संगठन सुदृढीकरणमा लागेकाले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुन नसकेको बताए । उनले जसपाले संगठन सुदृढीकरण अभियान सम्पन्न भएर फर्किएपछि मन्त्रिपरिषद्मा पठाउने सदस्यबारे निर्णय गर्ने बताए । श्रेष्ठले भने, “आगामी १५ गते संगठन सुदृढीकरण अभियान सकेर काठमाडौं फर्कन्छौँ, त्यसपछि मात्र मन्त्रिपरिषद्मा पठाउने आधार तयार पार्ने मन्त्रीहरूको नाम सिफारिस गर्ने विषयमा छलफलमा जुट्छौँ ।” उनले सम्भवतः १६ गते पार्टीले मन्त्रिपरिषद्मा पठाउने सिफारिसको आधारका विषयमा छलफल गरी निर्णय गर्नसक्ने बताए ।