काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेल पक्षले सरकार गठनको ५०औँ दिनसम्म पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै त्यसले पार्टीको छवि राम्रो नभएको निष्कर्ष निकालेको छ । मंगलबार पौडेल निबास बोहोरामा बसेको बैठकमा पौडेल पक्षले कांग्रेसले पाउने मन्त्रालयको संख्याबारे प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्ने निर्णय गरेको नेता अर्जुनरसिंह केसीले जानकारी दिए । उनले झण्डै दुई महिनासम्म सरकार विस्तार नहुँदा सरकारको प्रभावकारिता पनि नदेखिएको र त्यसले पार्टीलाई पनि घाटा पुर्याउने बताए ।
कांग्रेसले पाउने मन्त्रालयमा नियुक्ति गरेर भएपनि सरकारलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने पोडेल पक्षको भनाइ छ । पौडेलले सभापतिका आकांक्षीहरू भन्दै डाकेको बैठकमा नेताहरूले सरकारको प्रभावकारिता र पार्टीभित्रको आन्तरिक लोकतन्त्रको विषयमा पनि प्रश्न उठाएका थिए । सभापतिको साझा उम्मेदवार तय गर्न भोलि पुनः बैठक बोलाउने पौडेल पक्षको तयारी छ ।