२०८१ साउन ११ गते | 26th of July 2024

ओलीले भने – “माधव नेपालजस्तो लाजसरम पचेको मान्छे आफूले कतै पनि देखिन”

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १९ गते ११:१०

काठमाडौं – एमाले फुटेपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका अध्यक्ष केपी ओलीले हालसालै नयाँ पार्टी बनाएका माधवकुमार नेपाललाई लक्षित गरी रुखो टिप्पणी गरेका छन्। ओलीले माधव नेपालजस्तो लाजसरम पचेको मान्छे आफूले कतै पनि नदेखेको बताए। ‘वामपन्थी सरकार ढालेर, विकासको काम गरिरहेको सरकार ढालेर क्रान्तिका कुरा गर्ने ? यतिसारो लाजसरम पचेको माधव नेपालजस्तो मान्छे कहीँ देखिनँ,’ शनिबार काठमाडौं महानगर कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले भने, ‘दुनियाँ देश गएँ, तर कतै देखिनँ।’ माधव नेपाल किन यतिसाह्रो कम्युनिष्ट विरोधी भए भन्ने आफूले थाहा नपाएको उनले बताए।

माधव नेपालको काम नै, जिम्मा नै एमालेलाई बदनाम, कमजोर बनाउने र चरित्रहत्या गर्ने भएको बताए। ‘उनी कित यति कम्युनिष्ट विरोधी भए, कम्युनिष्ट सुन्नै नसक्ने भए। समाजवादी रे, कांग्रेसको एस पार्टी, वामपन्थी सरकार ढाल्ने, विरोधीको सरकार बनाउने अनि प्रतिक्रान्ति रोकेँ भन्ने?’ माधव नेपाल जुन खाटमा बसेका थिए अहिले बञ्चरोले त्यही खाटलाई हानेको हानै गरिरहेको ओलीले बताए। ‘जुन मन्दिरमा पूजा गर्थे अहिले थुकेको थुकै छन्। पतन भएको त्यही हो, सर्वनाश,’ ओलीले भने।

समाजवादी पार्टीमा अन्तिममा माधव नेपाल मात्रै रहने पनि उनले बताए। ‘माधव नेपाल विपक्षी गठबन्धनमा पाँच पार्टी भनेर पुगेका थिए, जतिबेला उनको पार्टी नै थिएन, त्यसकारण उनी एक्लै पार्टी, माधव नेपाल पार्टी, अन्तिममा हुने पनि मात्रव नेपाल मात्रै हो, उनी एकीकृत नै रहन्छन्,’ उनले भने। एमाले कार्यकर्ता विकास माल वस्तु होइनन् भन्दै ओलीले नेपालतिर कटाक्ष हाने। ‘अहिले हाम्रा भान्साका बिरालाहरू शेरबहादुर देउवाका भान्सामा देखिन्छन्। दुध र भात खान पाइन्छ कि भनेर म्याउ गर्दै गएका छन्,’ उनले भने, ‘एमालेमा त्यस्ता विकाउ माल रहन्नन्, अबको चुनावमा पार्टीले खाँटी उम्मेदवार तोक्नेछ। हामी अत्यधिक मतले जित्छौं।’

ओलीले अबको चुनावबाट देउवाको सरकारजस्तो गठजोडबाट सरकार बन्न नदिने बताए। ‘अहिले झ्याल भेन्टिलेसनबाट छिरेका छन्, अबको चुनावमा हामी झ्यालमा जाली हाल्छौं,’ ओलीले भने, ‘राजधानी जगाऔं, राजधानी जागेपछि देशै जाग्छ, यो राजधानीमा एमालेबाहेकका कोही पनि जनप्रतिनिधि बनेर उम्किन नपाउन्।’ ओलीले नेकपा एमालेको सरकारले जति विकास कसैले नगरेको बताए। ‘तपाईं हामी जहाँ पुगेका छौं, त्यस ठाउँबाट, उभिएकै ठाउँबाट एमालेको सरकारले के गरेको छ देखाउन सक्छौं,’ ओलीको दाबी छ, ‘हिँड्दै गरेको बाटो र तर्दै गरेको पुल देखाए हुन्छ। थुप्रै कामहरू भएका छन्।’ ओलीले एमाले सरकारमा नगई मेलम्चीको पानी पनि काठमाडौंमा नआउने दाबी गरे। ‘मेलम्ची बाढीले गर्दा बन्द भयो, म जनवरीको सुरूमा पानी ल्याउँछु भन्थेँ। उनीहरूले वैशाखसम्म कुनै पनि हालतमा पानी ल्याउन सक्दैनन्,’ ओलीले भने, ‘काम गर्ने रुची छैन। भत्काउने मात्रै रुची छ। मैले मेलम्चीसम्म जाने बाटो बनाउने भनेको थिएँ। त्यो बनाउँदैन यो सरकारले, बनाउनै भएन नि मैले भनेको हुनाले।’

उनले चुनावपछि एमालेको सरकार बन्ने र मेलम्चीको पानी फेरि ल्याउने बताए। ‘मेलम्चीको पानी ल्याउन एमाले नै चाहिन्छ। अरुले ल्याउने स्थिति छैन,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *