काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अहिले नै धारणा नबाउने बताएका छन् ।
आफूलाई भेट्न आएका एमसीसीका उपाध्यक्ष फतिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलसँग ओलीले सरकारले आफूहरूसँग छलफलसमेत नगरेको बताए । ओलीले सरकारको ‘पोजिसन’ नहेरी आफूहरूले धारणा नराख्ने बताएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । “सरकारमा हुँदा हाम्रो पोजिसन क्लियएर नै थियो । अहिले हामी प्रतिपक्ष भइसकेका छौँ । सरकारले के लिएर आउँछ हेरिरहेका छौँ,” भेटमा सहभागी भट्टराईले ओलीको भनाइ उद्धृत गर्दै भने, “सरकारले हामीसँग छलफल गरेको पनि छैन । सोधेको पनि छैन । त्यसो भएकाले हामीले यो गर्ने भनेर भन्न मिल्दैन ।”
आजै काठमाडौं आएका उपाध्यक्ष फतिमाको टोलीले ओलीसँग पहिलो राजनीतिक भेटवार्ता गरेको हो । सुमारको टोलीले अध्यक्ष ओलीलाई भेट्न उनको निवास बालकोट पुगेको थियो ।