२०८१ साउन १२ गते | 27th of July 2024

नेपाल आएकी एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले सकिन महत्वपुर्ण भेटघाट , अब के होला एमसीसी ?

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २५ गते १५:२२

काठमाडौ- चार वर्षअघि नेपाल र अमेरिकी सरकारबीच भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि ‘माहोल’ बनाउन बिहीबार चारदिने नेपाल भ्रमणमा आएकी एमसीसी कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातिमा सुमारले शुक्रबारसम्म आफ्ना महत्त्वपूर्ण भेटघाट भ्याएकी   छन्। सूरुमा  पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी सुमारले शुक्रबार बेलुकी प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन्।

नेपाल सरकार र एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा सम्झौतामा हस्ताक्षर भए पनि दलहरूबीच सहमति हुन नसक्दा यो संसद्‍बाट अनुमोदन हुन सकेको छैन। खासमा संसद्‍बाट अनुमोदन हुनुपर्ने विषयमै राजनीति दुई ध्रुवमा विभाजित छ। दलहरु विभक्त छन्। सत्तामा हुँदा एमसीसीका प्रखर समर्थक देखिएका दल राजनीतिक लाभहानीको हिसाब गरेर विपक्षमा उभिएका छन् भने सत्तामै रहेका दलहरुको पनि एक मत छैन।  नेपाल आएकै दिन, बिहीबार एमाले अध्यक्ष ओली र बेलुकी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेटेकी उनले बेलुकी ट्वीटरमा आफू भेटघाटबाट ‘उत्साहित रहेको’ उल्लेख गरेकी थिइन्। बिहीबार राति नै उनले जनता समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भेटेकी थिइन्। शुक्रबार भने उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर एमसीसीबारे आफ्ना सरोकार राख्ने र उनीहरुका सरोकार सुन्ने प्रयास गरिन्।

शुक्रबार बेलुकी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको टोली बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेको थियो। त्यसक्रममा भएका कुराकानीबारे उल्लेख गर्दै प्रधानमन्त्री देउवाले ‘एमसीसीमार्फत् नेपालको आर्थिक रुपान्तरणका लागि सौहार्द्धपूर्ण छलफल भएको’ उल्लेख गरेका छन्। प्रधानमन्त्री देउवा एमसीसी सम्झौता संसद्‍बाट अनुमोदन गर्नुपर्ने पक्षमा उभिएका छन्। ‘एमसीसीका उपाध्यक्षलाई स्वागत गर्न पाउँदा खुसी छु’, देउवाले ट्वीटरमा लेखेका छन्, ‘हामीले एमसीसीसहित नेपाल-अमेरिका सहकार्य र त्यसमार्फत् नेपालको आर्थिक रुपान्तरणका सम्भाव्यताबारे आ-आफ्ना विचार आदानप्रदान गर्‍यौं।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *