२०८१ वैशाख २० गते | 2nd of May 2024

प्रतिनिधीसभामा गरिएको बिरोधको शैली संसदीय मुल्य मान्यता अन्तर्गत रहेको एमालेको निष्कर्ष

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २६ गते १५:४५

काठमाडौं-नेकपा एमालेले सदनमा मर्यादित र शिष्ट भएर विरोध गर्न आफ्ना सांसदलाई ध्यानाकर्षण गराएको छ। शनिबार बसेको स्थायी कमिटीको बैठकले संसदीय मूल्य, मान्यता र एमालेले अवलम्बन गर्दै आएको संस्कृतिको स्मरण गराएको हो। ‘संसद्‌मा हामी लगातार विरोध अगाडि बढाइराखेका छौं। हाम्रो यो विरोध संसदीय मूल्य, मान्यता अन्तर्गत छ। शिष्ट छ। मर्यादित छ। आजको बैठकले हाम्रो सम्पूर्ण माननीय सदस्यहरुलाई संसदीय मूल्य, मान्यता र नेकपा एमालेले अवलम्बन गर्दै आएको मर्यादित र शिष्ट संस्कृतिभित्र बसेर विरोधलाई अगाडि बढाउनको निम्ति सम्पूर्ण माननीयहरुको ध्यानाकर्षण गरेको छ’, बैठकपछि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने।

सदनमा एमालेका सांसदहरुले भूमिकालाई थप स्पष्ट गर्न संसदीय दलको बैठक बोलाइएको छ। ‘संसद्‌मा नेकपा एमालेका माननीयहरुले खेल्नुपर्ने भूमिकालाई अझै स्पष्ट गर्नको निम्ति भोलि १२ बजे संसदीय दलको बैठक पनि आयोजना गर्ने र माननीय सदस्यहरुलाई पछिल्ला घटनाक्रम र विषयवस्तुहरुमा थप स्पष्ट गर्ने र भूमिकालाई स्पष्ट गर्ने कुरा पनि आजको बैठकले गरेको छ’, उनले भने। सभामुखप्रति पनि एमालेले असन्तुष्टि व्यक्त गरेको छ। सभामुखले एमाले पार्टीको विभाजनका निम्ति भूमिका खेलेको , उनको निष्पक्षता, सभामुखले संसद्लाई जसरी विश्वासमा नलिएरै चलिरहेको तथा उनी सत्तापक्षको प्रतिनिधि जस्तो भएर काम गरिरहेको विषयमा आफूहरुको टिप्पणी रहेको भट्टराईले बताए। एमालेले बजेट अध्यादेशको सन्दर्भमा आएको प्रतिस्थापन विधेयकको विषयमा पनि विरोध गरेको छ। ‘सत्ता पक्षको बल मिच्याइँ भयो भन्ने हाम्रो निष्कर्ष छ। कुनै पनि विधेयकहरु त्यसमा पनि बजेट जस्तो कुरा प्रस्तुत गर्दा पूर्वसूचना दिनुपर्ने हुन्छ संसद्‌मा। त्यसका लागि प्रतिपक्षी दलसँग आवश्यक सहकार्य गर्नुपर्ने हुन्छ। त्यो कुनै पनि कुरा नगरीकन हठात् र छापामार शैलीमा प्रतिस्थापन विधेयकमार्फत् बजेट ल्याइयो’, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *