२०८१ साउन १२ गते | 27th of July 2024

आशावादी बनेर फर्किन एमसिसीकी उपाध्यक्ष फतिमा

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २७ गते १३:४७

काठमाडौं –    चार दिने नेपाल भ्रमणमा आएकी एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले आइतबार पत्रकार सम्मेलनका क्रममा  एउटा वाक्य पटक -पटक दोहोर्‍याइन्: एमसिसी पास हुनेमा म आशावादी छु।  गत बिहीबार काठमाडौं उत्रिएसँगै उनले  लगातार राजनीतिक भेटघाट गरिन्। बालकोट, खुमलटार, सिंहदरबार, बालुवाटार र नागपोखरीस्थित होटल मेरियटमा उनले थुप्रै बैठक गरिन्।  नेपालको राजनीति अहिले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले तरंगित भएको छ। अमेरिकाले नेपालका सडक र विद्युतीय प्रसारण लाइन बनाउन दिने भनिएको ५० अर्ब रुपैयाँ अनुदान लिने कि नलिने भन्नेमा विवाद देखिन्छ। सामाजिक सञ्जालदेखि सडक र संसदसम्म एमसिसीको विरोधमा केहीले आवाज उठाइरहेका छन्। यहीबेला एमसिसीकी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आइन्।  ‘एमसिसीबारे सरकारले सोधेका प्रश्नको हामीले लिखित जवाफ दिएका छौं। म आफैंले भेटेर राजनीतिक दलका नेताहरूलाई,  मन्त्रीहरूलाई, सांसदहरूलाई र नागारिक समाजका अरू मानिसलाई थप स्पष्ट पार्ने प्रयास गरें,’ सुमारले भनिन्,‘यी सबै बैठकबाट म आशावादी बनेर वासिङ्टन फर्किँदै छु।’

आफूले भेटेका सबै जनाले एमसिसी  नेपालका लागि लाभदायी रहेको र छिटै पास गर्ने बताएकाले आफू आशावादी भएको उनले बताइन्।नेताहरूलाई आफूले विभिन्न कोणबाट उठेका प्रश्नको जवाफसँगै यसलाई छिटो संसदबाट तत्कालै पास गर्नुपर्ने कारणबारे बताएको सुमारले जानकारी दिइन्।  सुमारले भनिन्,‘नेपाललाई सडक र प्रसारण लाइनको विकासका लागि यो सहयोग आधारस्तम्भ हुनसक्छ। यो पास गर्न जति ढिला हुन्छ, नेपालको आर्थिक विकास पनि त्यति नै ढिला हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *