काठमाडौं – सरकारले भूमि आयोग गठन गरेको छ । यसअघिको आयोग खारेज गरेको सरकारले मंगलबार केशव निरौलालाई अध्यक्षमा नियुक्त गरेको हो । निरौला नेपाल शिक्षक संघका अध्यक्ष पनि हुन् । यसैगरी सरकारले नयन्द्र खड्कालाई उपाध्यक्ष बनाएको छ । उनीबाग्लुङ निवासी हुन् । आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलाले सुकुमबासीका समस्याहरूलाई हटाउने बताएका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुमबासीका समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरू थपिँदै गएकाले आफ्नो नेतृत्वको आयोगले ती समस्याहरूलाई हटाउने प्रयास गर्ने बताए ।
“भूमि आयोग गठन भएको छ । दलित भूमिहीन, भूमिहीन र अव्यवस्थित बसोवासीहरूको गठित यो आयोगको अध्यक्षको जिम्मेवारीमा नेपाल सरकारले मलाई नियुक्ति गरेको छ । सुकुमबासी समस्याका नाममा धेरै समयसम्म यो देशमा जटिलताहरू थपिँदै गएका छन्, यसलाई हटाउने प्रयत्नमा हामी प्रतिशद्ध हुनेछौँ,” अध्यक्ष निरौलाले भने ।