२०८१ वैशाख २१ गते | 3rd of May 2024

एमाले अध्यक्ष ओलीले भने – माधव नेपाल एमालेमा आवश्यक छैन

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ३१ गते १३:५२

काठमाडौँ –  नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको पार्टीमा नगई एमालेमै फर्किन नेता कार्यकर्ताहरूलाई आव्हान गरेका छन् । बिहीबार काठमाडौं जिल्ला समितिले आयोजना गरेको जिल्ला स्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले नेता नेपालको पछि नलागी एमालेमै रहन आह्वान गरेका हुन् ।  नेपालले व्यक्तिगत स्वार्थ र अहंकारका कारण पार्टी फुटाएको भन्दै उनले कार्यकर्ताको भविष्य सँग खेलवाड गरेको पनि बताए । आफ्नो व्यक्तिगत स्वार्थका कारण अरुको जिन्दगीसँग खेल्नु डरलाग्दो भएको उल्लेख गर्दै उनले नेपालले घरमा आगो लगाएर खरानी घसेर हिडेको टिप्पणी गरे । नेता नेपालको भविष्य नभएको भन्दै उनले भविष्य भएका नेता कार्यकर्ता मुल पार्टीमै फर्किनु पर्ने बताए ।

ओलीले भने, ‘म माधव नेपाललाई भन्दिनँ । माधव नेपालले अल्मल्याएका, भ्रममा पारेका, झुक्याएका मान्छेहरू फर्किनुस् पार्टीमा । कार्यकर्ता फर्किनुस् । झुक्किएका साथीहरू फर्किनुस् । माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर तिर्थ यात्रामा हिडेका मान्छेलाई म केही भन्दिनँ । घरमा आगो लगाएर खरानी धसेर हिड्या मान्छे ।

केही नेताहरूले नेपाललाई एमालेमा फर्किन आग्रह गरेको प्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले नेपालको एमालेमा आवश्यकता नभएको बताए । उनले पार्टीमा भएका विगतमा नेपाल पक्षका नेताहरूतर्फ लक्षित गर्दै नेपालको लोभ नगर्न पनि आग्रह गरे । उनले भने, ‘हुनत केही साथीहरू अहिलेपनि भन्नुहुन्छ, माधव कामरेड आउनुस् । तपाईको आवश्यकता छ भनेर । फुटाउनलाई आवश्यकता छ अब उहाँको यहाँ ? फेरी फुटाउने ? के गर्न आवश्यकता छ माधव कामरेडको त्यो म बुझ्दिन । के लाई आवश्यकता ? उहाँ छउन्जेल पार्टी गुटबन्दी बाहेक केही भएन, माधव नेपालले यो साढे तीन वर्षमा पार्टीको पक्षमा, सरकारको पक्षमा एक शब्द बोलेको कमरेडहरुले सुन्नुभयो कहिल्यै ? सरकारको आलोचना, सरकारको विरोध, प्रतिक्रियावादी भन्दा चर्को, विपक्षीहरुले के भन्थे यतै सत्ता पक्षकै नेताहरुले यति बोलीसकेपछि हामीले केही बोल्नु परेन ।’अध्यक्ष ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल उडेको प्लेन दृश्यबाट बिलाउँदै गएजस्तै गरी बिलाएर जाने टिप्पणी गरे । उनले माओवादी केन्द्र र एमाले एकीकरण पछिको मुल पार्टी आफुहरूकै भएको भन्दै दाहालले आफ्नो गुट मात्र लगेको बताए । अध्यक्ष ओलीले  सरकारले बजेट ल्याउन नसकेको भन्दै उनले आलोचना गरे । आफुहरूले बजेट ल्याउन नरोकेको भन्दै उनले संसद्‍मा कुदेर अर्थोक गर्न मिल्ने तर बजेट ल्याउन किन नमिल्ने भन्ने प्रश्नसमेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *