२०८१ वैशाख २५ गते | 7th of May 2024

गौरीराज जोशीको उम्मेदवारी विधानत योग्य रहेको प्रमाणित गरिन्छ: महासचिव केसी

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ७ गते २३:१३

पुरुषोत्तम ढकाल, लसएन्जलस, ८ साउन । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०१७-२०१८ कार्यकालका अध्यक्ष प्रत्याशी गौरीराज जोशीको उम्मेदवारीको योग्यतालाई लिएर संघको अमेरिका स्थित निर्वाचन आयोगले उत्पन्न गरेको अन्यौल संघको केन्द्रिय सचिवालयले शनिबार अमेरिकास्थित निर्वाचन आयोगलाई एक पत्र लेख्दै अन्त्य गरिदिएको छ ।

संघका महासचिव बद्रि केसीले केन्द्रिय सचिवालयको तर्फबाट संघको अमेरिका स्थित निर्वाचन आयोगलाई लेखेको पत्रमा जोशीको योग्यता प्रमाणित गर्दै भनेका छन्, ‘गैर आवशीय नेपाली संघको विधान २०१५ र राष्ट्रिय महाधिवेशन संचालन सम्बन्धि नियमावली २०१७ अनुसार संघको विधानको दफा २३: ११ अनुसार राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष उम्मेदवार बन्न निज राष्ट्रिय समन्वय परिषद वा अन्तराष्ट्रिय परिषदको सदस्य वा पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनु पर्नेछ भन्ने विधानको ब्यबस्था अनुसार गैर आवाशीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०१७-२०१९ कार्यकालका अध्यक्ष उम्मेदवार गौरीराज जोशी गैर आवाशीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको अम्बिका अधिकारी अध्यक्ष रहेको २००७-२००९ एक कार्यकाल पुरा गरेको हुँदा उनको अध्यक्ष उम्मेदवारी विधानत योग्य रहेको समेत प्रमाणित गरिन्छ ।’

महासचिव बद्री केसीले प्रमुख निर्वाचन आयुक्त बन्दिता शर्मालाई संबोधन गर्दै पठाएको पत्रमा जोशीले डा. अम्बिका अधिकारी नेतृत्वको कार्यसमिति (सन् २००७–२००९) मा कार्यकारी सदस्य तथा सदस्यता व्यस्थापन संयोजक भएर काम गरेको उल्लेख छ ।

गैर आवाशीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिका २१ जनवरी २००६ देखि संघको केन्द्रसंग आवद्ध रहेको पत्रमा उल्लेख छ ।

यस अघि जोशीको उम्मेदवारीको योग्यतालाई लिएर संघका क्षेत्रीय संयोजक सोनाम लामाले विधान विपरित पत्र लेखेर निर्वाचन आयोगलाई दवाव दिएपछि त्यही पत्रलाई आधार मानेर निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको सूचीमा जोशीको नाम राखेको थिएन ।

शुक्रवार संघको अमेरिकास्थित निर्वाचन आयोगले जोशीलाई आफ्नो उम्मेदवारीको योग्यता पुष्टि गर्न संघको राष्ट्रिय समन्वय परिषद वा अन्तराष्ट्रिय समन्वय परिषदको सचिवालयबाट बोर्ड सदस्यको हैसियतले एक कार्यकाल काम गरेको प्रमाण पेश गर्न भनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *