काठमाडौँ– सामाजिक अभियान्ता एवं चिकित्सक डा. गोविन्द केसी मानवीयताका लागि संयुक्त राष्ट्र संघको मुख्यालय अगाडि धर्ना दिने भएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघ मुख्यालय अगाडि उनीसहितको टोलीले २० र २१ (सोमबार र मंगलबार) मा दुई दिन धर्ना दिने भएको छ । डा. केसी अहिले बोस्टन पुगिसकेका छन्, उनी धर्ना कार्यक्रमका लागि आज न्यूयोर्क जान लागेको उनका सहयोगीले बताए ।
अफगानिस्तान, सोमालिया लगायतका मुलुकमा मानवीय सहायताका लागि संयुक्त राष्ट्र संघको ध्यानाकर्षण गराउन डा. केसी न्यूयोर्क पुगेका हुन् । केही समयअघि उनी मानवीय सहायताका लागि भन्दै स्वयंसेवी भएर द्वन्द्वग्रस्त यमन पुगेका थिए । उनले नेपालमा चिकित्सा शिक्षा सुधारका लागि पनि लड्दै आएका छन् । पटक–पटक अनसन गरेर सरकारसँग सहमति गरेपनि सरकार आफूसँगको सहमति कार्यान्वयनमा प्रतिवद्ध नभएको डा. केसीले बताउँदै आएका छन् ।