२०८१ साउन १२ गते | 27th of July 2024

कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि परिमार्जन

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज ६ गते १३:३२

काठमाडौं –  नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि परिमार्जन हुने भएको छ । १४ औं महाधिवेशन अन्तर्गत सबै जिल्लाको क्रियाशील सदस्यता नटुंगिदा कार्यतालिका प्रभावित भएको हो । बुधबार बसेको कांग्रेसका शीर्ष नेताहरुसहितको पदाधिकारी बैठकले दशैंअघि स्थानीय तहको अधिवेशन मात्रै गर्ने निर्णय गरेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने सहमति भएको बताए । ‘अब दशैंअघि पालिका अधिवेशन मात्रै हुन्छ, बाँकी त्यसपछि हुन्छन्,’ उनले भने । नयाँ परिमार्जित कार्यतालिका भने कांग्रेसले सार्वजनिक गरेको छैन । कांग्रेसमा १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा यी जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ । पौडेल समूहले बाँकी जिल्लाको वडा अधिवेशन सम्पन्न भएपछि मात्रै पालिकाको अधिवेशन गर्नुपर्ने माग गरेपछि कार्यतालिका संशोधन भएको बताइएको छ ।

पदाधिकारी बैठक बस्नुअघि वरिष्ठ नेता पौडेल समूहको बैठक बसेको थियो । पौडेल समूहले सबै अधिवेशनहरु सबै जिल्लामा एकै समयमा हुनुपर्ने निर्णय गरेको थियो । पछिल्लो पटक संशोधित कार्यतालिकामा ५ असोजमा बाँकी जिल्लाको वडा अधिवेशन, ९ गते पालिका अधिवेशन, १२ गते प्रदेश सभा निर्वाचन क्षेत्र, १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १८ गते जिल्ला अधिवेशन गर्ने उल्लेख थियो ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने कार्यतालिका संशोधनबारे कुनै निर्णय न भएको बताए । उनले ९ असोजका लागि तय भएको पालिका अधिवेशन तोकिएकै मितिमा गर्ने सहमति भएको बताए । ‘अहिलेलाई कार्यतालिका अनुसार नै अधिवेशन गर्ने कुरा भएको छ,’ उनले भने, ‘कार्यतालिका परिमार्जनबारे प्रस्ताव आएका छन्, तर निर्णय भइसकेको छैन ।’

One thought on “कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि परिमार्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *