काठमाडौं – केही दिनदेखि राजधानी काठमाडौं सहित देशका विभिन्न क्षेत्रमा केही छिनमै मौसम बदलिने र सामान्य वर्षा हुने क्रम जारी छ । कतिपयले यस्तो मौसमी परिस्थितिको कारण बङ्गालको खाडीमा विकसित भई बनेको गुलाब नामक चक्रवात भएको ठानेका छन्। मौसमविद्हरूका अनुसार नेपालमा उक्त चक्रवातको ‘अप्रत्यक्ष प्रभाव’ मात्र परेको छ भने ‘मनसुन अझै नसकिएकाले’ पानी पर्ने क्रम रोकिएको छैन। उनीहरूले यसपटक मनसुनको अवधि केही दिन लम्बिने सङ्केतहरू देखेका छन्। बारम्बार पानी परिरहेकाले यस वर्ष धानबाली सप्रिएको हुँदा उत्पादन बढ्न सक्ने कृषि विज्ञहरूको भनाइ छ।
यद्यपि केही जातका धान अहिले पसाउने र फूल फुल्ने बेला भएकाले “लगातार पानी परेमा दानाहरू पोटिला बन्न नसक्ने” उनीहरूको चिन्ता छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गुलाब चक्रवातको “अप्रत्यक्ष परिधिक असर” मात्र नेपालमा परेको छ। महाशाखाका अनुसार गत शुक्रवार बङ्गालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र बन्न सुरु भएर शनिवार गुलाब नामक शक्तिशाली चक्रवात विकास भएको थियो। उक्त चक्रवात गत आइतवार भारतको उडिसा राज्यको स्थल क्षेत्रमा बजारिन पुग्यो। त्यसपछि उक्त चक्रवात अहिले न्यून चापीय क्षेत्रका रूपमा पश्चिमतर्फ अघि बढिरहेको महाशाखाले जनाएको छ। त्यसकै अप्रत्यक्ष प्रभाव मात्र नेपालमा परेको विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन्। उनका अनुसार चक्रवातपछि बङ्गालको खाडी क्षेत्रमा फेरि एउटा न्यून चापीय क्षेत्र विकास भएकाले नेपालमा हल्का र मध्यम वर्षा भएको हो।उनले भनिन्, “त्यो न्यून चापीय क्षेत्र र मनसुनको प्रभावका कारण पानी परेको हो।”मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी बिहीवारसम्म देशैभरि हल्का र मध्यम वर्षा हुने सम्भावना रहेको छ।
मनसुन जारी रहनु र बङ्गालको खाडीमा विकास भएको न्यून चापीय क्षेत्रको प्रभावले त्यस्तो अवस्था आउने महाशाखाले जनाएको छ।