२०८१ वैशाख २१ गते | 3rd of May 2024

भारतीय सरकारी एयरलाइन्स एयर इन्डिया बिक्री

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज १५ गते १५:०६

काठमाडौं- लामो समयदेखि घाटामा चलिरहेको भारतीय सरकारी एयरलाइन्स एयर इन्डिया बिक्री भएको छ।  पछिल्लो दुई वर्षदेखि भारत सरकारले बिक्री गर्न खोजेपनि सफल भएको थिएन। खरिद गर्नेलाई अफर नै प्रस्ताव गरेर अन्तत: खरिदकर्ता पाएको छ।  भारतीय सरकारले एयर इन्डियाको शतप्रतिशत र एयर इन्डिया एसेट्सको ५० प्रतिशत सेयर बिक्री गर्नका लागि खुला प्रस्ताव आव्हान गरेको थियो। एयरलाइन्स खरिदका लागि भारतीय बहुराष्ट्रिय व्यापारिक समूह टाटा सन्सले हालेको प्रस्ताव सरकारले स्वीकार गरेको छ। टाटाले  खरिदका लागि कति मूल्य प्रस्ताव गरेको छ भन्ने कुरा अहिलेसम्म खुलेको छैन। 

यद्यपि भारतीय सञ्चारमाध्यमहरूले १ खर्ब ५० अर्बदेखि २ खर्ब भारुसम्मको प्रस्ताव गरेको उल्लेख गरेका छन्।  व्यावसायिक रुपमा खराब प्रदर्शन गर्दै आएपछि सरकारले सन् २००० मै बिक्रीको प्रयास गरेको थियो। त्यतिबेला बिक्रिका लागि प्रस्ताव गरेपनि सफल भएको थिएन। सन् २०१८ मा सरकारले ७६ प्रतिशत सेयर बिक्री गर्नका लागि प्रस्ताव माग गरेको थियो। व्यवस्थापनमा सरकारी नियन्त्रण कायमै हुनेगरि भएको उक्त निर्णयमा कुनै पनि लगानीकर्ताले चासो दिएनन्। त्यसपछि सरकारले १०० प्रतिशत सेयर बिक्री गर्ने निर्णय गरेपछि बिक्री प्रस्तावमा लगानीकर्ताले चासो दिएका थिए। ठूलो ऋणमा डुबेको एयरलाइन्स खरिद गर्नेले पुरै ऋण तिर्नुपर्ने छैन। ६ खर्ब भारु कूल ऋण रहेको एयरलाइन्स खरिद गर्नेले २ खर्ब ऋणको दायित्व बोक्नुपर्ने बाँकी ऋण दायित्व एयर इन्डिया एसेट होल्डिङसँग जाने छ। 

टाटा समूहको प्रस्ताव स्वीकृत गरेको कुरा भारत सरकारले अहिलेसम्म औपचारिक रुपमा भनेको छैन। भारतीय सञ्चारमाध्यमहरूले स्रोतलाई हवला दिँदै समाचार लेखिरहेका छन्।  टाटा समूहको हातमा एयर इन्डिया पहिलोपटक जान लागेको होइन। एयर इन्डियाको घर फिर्तीका रुपमा भारतीय सञ्चारमाध्यमले व्याख्या गरेका छन्। एयर इन्डियाको स्थापना नै टाटा समूहले गरेको थियो। सन् १९३२ मा जेआरडी टाटाले यसको स्थापना गरेका थिए। आफै पाइलट रहेका टाटाले यसको नाम टाटा एयर सर्भिस राखेका थिए। 

दोस्रो विश्वयुद्ध सुरु भएपछि एयरलाइन्स बन्द भएको थियो। त्यसपछि सन् १९४६ मा सेवा सुरु भएपछि सरकारले सेयर खरिद गरी नाम परिवर्तन गरिदिएको थियो। त्यतिबेला नै यसको नाम एयर इन्डिया भएको थियो। सन् १९५३ मा भारत सरकारले एयर इन्डियालाई राष्ट्रियकरण गरेको थियो।  भिस्तारा एयरलाइन्सबाट अहिले फेरि नागरिक उड्डयनमा हात हालेको टाटाले एयर इन्डिया लिएपछि कसरी व्यवसाय अघि बढाउँछ त्यसका बारेमा कुनै जानकारी बाहिर आएको छैन। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *