२०८१ साउन १२ गते | 27th of July 2024

कोभिडविरुद्धको खाने चक्कीको अन्तरिम क्लिनिकल परीक्षण परिणाम अन्त्यन्न सकारात्मक भएको दाबी

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज १६ गते १४:४४

वासिङ्टन – अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने नतिजा प्राप्त भएको दाबी गरेको छ ।

मोल्नुपिरभिर नामक सो खाने चक्कीको अन्तरिम क्लिनिकल परीक्षण परिणाम अन्त्यन्न सकारात्मक रहेको उत्पादक कम्पनी मर्कले जनाएको छ । मोल्नुपिरभिर चक्की कोभिडका बिरामीलाई दिनको दुईपटक दिइएको थियो । परिणाम उत्साहजनक भएकाले बाह्य अनुगमनकर्ताहरूले परीक्षणकाल छोट्याउन अनुरोध गरेको सो कम्पनीले जनाएको छ ।मर्कले अमेरिकामा अबको दुई हप्तामा आपतकालीन प्रयोगका लागि अनुमति लिन निवेदन दिने बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकार डाक्टर एन्थोनी फाउचीले परिणाम असाध्यै राम्रो समाचार भएको टिप्पणी गरे । उनले अमेरिकी खाद्य तथा औषधि नियामक निकाय एफडीएले त्यो तथ्यांक समीक्षा नगरेसम्म भने सावधानी अपनाउन आग्रह गरे ।

यदि नियामकहरूले अनुमति दिए भने मोल्नुपिरभिर कोभिड-१९ का लागि पहिलो एन्टिभाइरल खाने औषधि बन्नेछ । सुरुमा इन्फ्लुएन्जा उपचारका लागि विकास गरिएको यो औषधिले भाइरसको जेनेटिक कोडमा परिवर्तन ल्याइदिने गरी डिजाइन गरिएको छ, जसले भाइरस शरीरमा फैलनबाट रोक्छ । कोभिड खोपमा भाइरसको बाहिर रहेको चुच्चो प्रोटिनलाई निशाना बनाइन्छ भने खाने चक्कीमा भाइरसले संख्या बढाउने इन्जाइमलाई नै निशाना बनाउने कम्पनीको दाबी छ । एन्टिभाइरस उपचार वा खोप प्रभावकारी नभएका व्यक्तिमा खाने औषधिले काम गरेको खण्डमा महामारी अन्त्य गर्न यो ठूलो हतियार साबित हुने मर्कका उपाध्यक्ष डारिया हजुडाले बताए ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *